‘गरिखान देऊ’ भन्दै महानगर अगाडि विरोध

काठमाडौं, असार २७ गते । काठमाडौं महानगरपालिकाले फुटपाथ तथा साना व्यापारीमाथि ज्यादती गरेको भन्दै विरोध प्रदर्शन गरेका छन् ।

महानगरपालिकाको कार्यालय अगाडि स्वतन्त्र युवाहरुको समूहले ‘गरिखान देऊ’ भन्दै विरोध गरेका हुन् ।

उहाँहरुले महानगरपालिकका मेयर बालेन्द्र शाह(बालेन)ले चुनाव अगाडि ‘गरिबको चमेली बोलिदिने कोही छैन’ भन्दै गाएको गीत गाउँदै विरोध गरेका थिए ।

महानगरपालिकाका नगर प्रहरीहरुले फुटपाथ खाली गर्ने नाममा जीविकोपार्जन गर्ने मान्छेहरुलाई काठमाडौंमा टिक्नै नदिएको भन्दै विरोध गरेका सहभागी युवा प्रसजु मैनालीले बताउनुभयो ।

‘महानगरपालिकाभित्र भएका गरिखाने वर्गलाई अवमूल्यन गरेर शहरको सौन्दर्यता राम्रो कदापि हुन सक्दैन । शहरभित्रका फुटपाथ तथा साना व्यापारीहरुलाई निश्चित स्थान दिएर विकल्प दिनुपर्ने ठाउँमा विस्थापन गरिरहेकोले हामीले विरोध गरेका हौं’, मैनालीले भन्नुभयो ।

उहाँले काठमाडौं महानगरपालिकाको प्रवृत्तिको विरोध गरेको भन्दै पात्रको विरोध नगरेको दाबी गर्नुभयो । महानगरको कार्यालय अगाडि पानीमा भिजेर नै उहाँहरुले प्रदर्शन गर्नुभएको छ ।