मुस्ताङ, – बेनी–जोमसोम–कोरला सडक योजना अन्तर्गत थासाङ गाउँपालिकाको कैकुखोलामा मोटर सञ्चालन गर्न मिल्ने पक्की पुल निर्माण सम्पन्न भएको छ।
योजना कार्यालयका सूचना अधिकारी इन्जिनियर जेमकुमार बैठाका अनुसार २० मिटर लामो उक्त पुल निर्माण पूरा भएसँगै यातायातका साधन सञ्चालन हुन थालेका छन्।
पुल निर्माणका लागि विसं २०८१ वैशाख ११ गते ५ करोड ३४ लाख ६३ हजार ६२४ रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो। पुलसँगै पहुँचमार्ग स्तरोन्नति तथा बाढी र कटान नियन्त्रणका संरचनासमेत निर्माण गरिएको छ।
पर्वतको लामढुङ्गादेखि चीनको स्वशासित क्षेत्र तिब्बतको कोरला नाकासम्म फैलिएको २०२ किलोमिटर लामो बेनी–जोमसोम–कोरला सडकमा हालसम्म १५ वटा पक्की पुल निर्माण भइसकेका छन्।
यस्तै, लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको घमीखोलामा अर्को एउटा पुल निर्माणाधीन रहेको छ भने सडकखण्डमा ६ वटा बेलिब्रिज पनि निर्माण गरिएका छन्।



