नाडा अटो शोमा विदेशी ब्रान्डसँगै नेपाली उत्पादनको दमदार उपस्थिति

काठमाडौं — नेपालमा सवारीसाधनको बजार विस्तार भइरहेका बेला स्वदेशमै उत्पादन तथा एसेम्बल भएका सवारीसाधन र अटोमोबाइल सामग्रीलाई समेत प्राथमिकता दिँदै नाडा अटो शो २०२६ काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आयोजना गरेको १८औँ संस्करणको अटो शोको उपराष्ट्रपति रामसहाय यादवले उद्घाटन गरे । नाडाको ५०औँ वर्ष पूरा भएको अवसरमा आयोजित प्रदर्शनी भदौ १४ गतेसम्म सञ्चालन हुनेछ।

यस वर्षको प्रदर्शनीमा दुईपाङ्ग्रे, चारपाङ्ग्रे तथा व्यावसायिक सवारीसाधनका ५३ ब्रान्ड सहभागी छन्। ती ब्रान्डले डेढ दर्जनभन्दा बढी नयाँ मोडल सार्वजनिक तथा प्रदर्शन गर्ने तयारी गरेका छन्।

‘मेड इन नेपाल’लाई विशेष प्राथमिकता

यसपटकको अटो शोको मुख्य आकर्षणमध्ये नेपालमै उत्पादन भएको विद्युतीय स्कुटर ‘यात्री पी–२’ पनि रहेको छ। नेपाली कम्पनीले उत्पादन गरेको सवारीसाधनलाई अन्तर्राष्ट्रिय ब्रान्डका सवारीसँगै एउटै प्रदर्शनीमा राखिएपछि नेपाली अटोमोबाइल उद्योगको बदलिँदो अवस्थालाई समेत देखाएको आयोजकको भनाइ छ।

नाडाले आफ्नो स्वर्णजयन्तीका अवसरमा आयोजना गरेको प्रदर्शनीमा विदेशी ब्रान्डका सवारीसाधनसँगै नेपालमै उत्पादन वा एसेम्बल गरिएका सवारीसाधन तथा अटोमोबाइल सामग्रीलाई छुट्टै प्राथमिकता दिएको छ।

प्रदर्शनीस्थलमा ‘मेड इन नेपाल, मेड फर नेपाल’ प्याभिलियन स्थापना गरिएको छ। उक्त प्याभिलियनमा नेपालमा उत्पादन वा एसेम्बल भएका सवारीसाधन तथा अटोमोबाइल सामग्री प्रदर्शनमा राखिएका छन्।

नाडाका अनुसार करिब आठ नेपाली उत्पादक उक्त प्याभिलियनमा सहभागी छन्। यहाँ विद्युतीय मोटरसाइकल, अटोमोटिभ ब्याट्री, ल्युब्रिकेन्ट, हेल्मेटलगायत सामग्री उत्पादन गर्ने नेपाली कम्पनी सहभागी छन्।

यात्रीसँगै एसियन वायरिङ, कोहिनुर प्लास्टिक इन्डस्ट्रिज, नेपाल ल्युब आयल र पूर्वाञ्चल ल्युब आयललगायत नेपाली उत्पादकले आफ्ना उत्पादन प्रदर्शन गरिरहेका छन्।

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले नेपालमा अटोमोबाइल क्षेत्रमा स्वदेशी उत्पादनको सम्भावना बढ्दै गएको बताए ।

“हामीले दिन खोजेको सन्देश यही हो—नेपाल अब गाडी आयात गर्ने देशमा मात्र सीमित छैन। हामी बिस्तारै आत्मनिर्भरता र स्वदेशी उद्यमतर्फ बढिरहेका छौँ,” उनले भने ।

उनका अनुसार नाडाको ५० वर्षे यात्रामा नेपालमा सवारीसाधनको बिक्री, खरिद तथा सर्भिसिङसँगै पार्टपुर्जा आपूर्ति र उत्पादनसम्मका गतिविधि विस्तार भएका छन्।

५३ ब्रान्डको सहभागिता

यसपटकको अटो शोमा प्यासेन्जर कारतर्फ रिडारा, आयोन, जेएमईभी, टाटा ईभी, सुजुकी, दीपल, अभतार, फोटोन, स्कोडा, नामी, चाङ्गान, प्रोटोन, बीवाईडी, जीली, ओमोडा, जेको, जेटोर, एमजी, जीडब्ल्यूएम, लीपमोटर, एमहिरो, स्काइवेल र वुलिङलगायत ब्रान्ड सहभागी छन्।

लाइट कमर्सियल सवारीतर्फ फोटोन, सोकोन, किङलङ, हाइगर, फारिजोन, जिनबेई, टाटा मोटर्स कमर्सियल भेइकल्स, डीएफएसके, कामा, न्यू गोनो अटो, ओकवेल, दीगो, स्काईवर्थ ईभी, डोङफेङ, कावेल अटो र फेइदीलगायत ब्रान्ड रहेका छन्।

दुईपाङ्ग्रे सवारीतर्फ रोयल इन्फिल्ड, यात्री, हिरो, भिडा, यामाहा रेसिङ, भेस्पा–अप्रिलिया, एम्पियर, मेटाईभी, जोङसेङ, क्यूजे मोटर्स, मिचे अटो र रिभोल्टलगायत ब्रान्ड सहभागी छन्।

२०० भन्दा बढी स्टल

सवारीसाधनबाहेक बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, अटो पार्ट्स, ग्यारेज उपकरणलगायतका सामग्रीका २०० भन्दा बढी स्टल प्रदर्शनीमा राखिएका छन्।

प्रदर्शनीलाई चारपाङ्ग्रे, दुईपाङ्ग्रे, वित्तीय संस्था, अटो पार्ट्स तथा ग्यारेज उपकरण, ‘मेड इन नेपाल, मेड फर नेपाल’ र इन्टरनेसनल बिजनेस प्याभिलियन गरी विभिन्न क्षेत्रमा विभाजन गरिएको छ।

अटो शोमा सर्वसाधारणका लागि प्रवेश शुल्क २०० रुपैयाँ र विद्यार्थीका लागि १५० रुपैयाँ तोकिएको छ। टिकट खल्ती एपमार्फत अनलाइन खरिद गर्न सकिनेछ।

प्रदर्शनीस्थलमा पार्किङ, ट्राफिक व्यवस्थापन सूचना डेस्क, मिडिया डेस्क, क्याफेटेरिया तथा आकस्मिक स्वास्थ्य सेवासमेत उपलब्ध गराइएको नाडाले जनाएको छ।

विदेशी ब्रान्डका नयाँ मोडलसँगै नेपाली उत्पादनलाई समेत एउटै मञ्चमा प्राथमिकताका साथ प्रदर्शन गरिएकाले यस वर्षको नाडा अटो शोले नेपालको अटोमोबाइल बजार आयातमा मात्र निर्भर बजारबाट उत्पादन र एसेम्बलीतर्फ समेत अघि बढिरहेको संकेत गरेको छ।