काठमाडौं – कंगोको पूर्वी इटुरी प्रान्तमा इबोला भाइरसको नयाँ प्रकोप फैलिँदा हालसम्म ८० जनाको मृत्यु भएको छ । त्यहाँ २४६ वटा शंकास्पद सङ्क्रमणका घटना फेला परेका छन् ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले अवस्थालाई विश्वव्यापी स्वास्थ्य संकटकालका रूपमा लिएको भए पनि हाललाई यसलाई महामारीको स्तरमा भने नपुगेको जनाएको छ ।
कंगोका स्वास्थ्यमन्त्री स्यामुएल–रोजर कम्बाका अनुसार यसपटकको पहिलो सङ्क्रमण एक नर्समा देखिएको अनुमान गरिएको छ, जसको गत अप्रिल २४ मा मृत्यु भएको थियो ।
परीक्षणका क्रममा हालसम्म इबोलाको ‘बुन्डिबुग्यो’ स्ट्रेनका आठ वटा केस पुष्टि भएका छन् । यो स्ट्रेन पहिले कंगोमा व्यापक रूपमा नदेखिएको प्रकार भएकाले स्वास्थ्य अधिकारीहरू थप चिन्तित बनेका छन् ।
किन बढ्यो चिन्ता ?
यसअघि कंगोमा देखिने अधिकांश इबोला सङ्क्रमण ‘जायरे’ स्ट्रेनका हुने गरेका थिए । हाल प्रयोग भइरहेका धेरैजसो खोप र उपचार पनि सोही स्ट्रेनलाई लक्षित गरेर विकसित गरिएका छन् ।
तर, अहिले देखिएको ‘बुन्डिबुग्यो’ स्ट्रेन फरक प्रकृतिको भएकाले उपलब्ध खोप र उपचार कत्तिको प्रभावकारी हुन्छ भन्नेबारे अनिश्चितता बढेको विशेषज्ञहरूले बताएका छन् ।
इबोला हाल इटुरी प्रान्तका बुनिया, र्वाम्पारा र मोंगवालु क्षेत्रमा फैलिएको छ । स्थानीयवासीका अनुसार पछिल्ला दिनमा लगातार मृत्यु भइरहेका छन् ।
बुनियाका स्थानीय बासिन्दा जीन मार्क असिम्वेले एकै दिन दुईदेखि तीन जनासम्मको अन्त्येष्टि गर्नुपरेको अवस्था रहेको बताएका छन् ।
छिमेकी देशमा फैलिने जोखिम
कंगोसँग सीमा जोडिएको युगान्डामा पनि इबोलाको एक केस पुष्टि भएको छ । सङ्क्रमित बिरामीको मे १४ मा कम्पालास्थित अस्पतालमा मृत्यु भएको थियो । पछि उनको शव कंगो फर्काइएको थियो ।
युगान्डाले हालसम्म स्थानीय स्तरमा थप सङ्क्रमण फैलिएको पुष्टि नगरे पनि अफ्रिकाको सार्वजनिक स्वास्थ्य एजेन्सीले युगान्डा र दक्षिण सुडानमा संक्रमण फैलिने उच्च जोखिम रहेको चेतावनी दिएको छ ।
केन्याले पनि क्षेत्रीय आवागमनलाई ध्यानमा राख्दै सतर्कता बढाएको छ । त्यहाँ सरकारले इबोला रोकथामका लागि विशेष टोली गठन गरेर देशका सबै प्रवेश नाकामा निगरानी कडा पारेको छ ।
इबोलाको इतिहास
इबोला भाइरस पहिलो पटक सन् १९७६ मा अफ्रिकामा फेला परेको थियो । त्यसबेला सुडान र तत्कालीन जायरे (हालको प्रजातान्त्रिक गणतन्त्र कंगो) मा संक्रमण देखिएको थियो ।
कंगोमा भाइरस फेला परेको क्षेत्र नजिकै रहेको ‘इबोला नदी’ को नामबाट यस रोगको नामकरण गरिएको हो ।
संक्रमित व्यक्तिको रगत, वान्ता वा शरीरका अन्य तरल पदार्थको सम्पर्कबाट सर्ने यो रोग अत्यन्त घातक मानिन्छ । विश्वभर इबोलाबाट संक्रमितमध्ये २५ देखि ९० प्रतिशतसम्म बिरामीको मृत्यु हुने गरेको छ ।
सन् २०१४ देखि २०१६ सम्म पश्चिम अफ्रिकामा फैलिएको इबोला इतिहासकै सबैभन्दा ठूलो प्रकोप थियो, जसमा ११ हजारभन्दा बढी मानिसको ज्यान गएको थियो ।



