रास्वपा नेतृत्व सरकारको पहिलो बजेट : अर्थतन्त्र रूपान्तरणतर्फ कस्तो ‘रोडम्याप’ आउला ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले आज आफ्नो पहिलो बजेट सार्वजनिक गर्दैछ। अर्थमन्त्री स्वर्णिम वाग्ले ले अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को वार्षिक आय–व्यय विवरण प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

यो सरकारको पहिलो बजेट भएकाले यसलाई विशेष चासोका साथ हेरिएको छ। बजेटलाई रास्वपाको वाचापत्रलाई आधार मानेर तयार गरिएको बताइएको छ।

राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ९० अर्ब रुपैयाँको बजेट सीमा तोकेको भए पनि सरकारले करिब २१ देखि २२ खर्ब रुपैयाँसम्मको ठूलो आकारको बजेट ल्याउने तयारी गरेको स्रोतहरूको दाबी छ।

चालु आर्थिक वर्षमा राजस्व संकलन अपेक्षाअनुसार हुन नसक्नुका साथै करिब डेढ खर्ब रुपैयाँको घाटा देखिएको अवस्थामा पनि सरकारले जनआकांक्षा सम्बोधन गर्ने उद्देश्यसहित महत्वाकांक्षी बजेट ल्याउन लागेको हो।

बजेटले आगामी सात वर्षभित्र नेपालको अर्थतन्त्रलाई १०० अर्ब अमेरिकी डलर बराबर पुर्‍याउने तथा १० वर्षभित्र नेपाललाई मध्यम आय भएको मुलुकमा रूपान्तरण गर्ने दीर्घकालीन लक्ष्य अघि सार्ने तयारी गरेको जनाइएको छ।

सूचना प्रविधि क्षेत्रलाई ‘राष्ट्रिय रणनीतिक उद्योग’का रूपमा विकास गर्ने, स्टार्टअपका लागि बीउ पूँजीको व्यवस्था गर्ने र युवालाई लक्षित ‘रिमोट वर्क’ कार्यक्रम सञ्चालन गर्ने योजना बजेटमा समेटिने अपेक्षा गरिएको छ। त्यस्तै, डिजिटल नेपाल अवधारणालाई विस्तार गर्दै सरकारी सेवा पूर्ण रूपमा अनलाइनमार्फत उपलब्ध गराउने नीति पनि अघि सारिने बताइएको छ।

बन्द अवस्थामा रहेका उद्योग पुनः सञ्चालन गर्ने, उत्पादनशील क्षेत्रमा लगानी बढाउने तथा आयात प्रतिस्थापनलाई प्राथमिकतामा राख्ने नीति पनि बजेटमा समावेश हुने अनुमान गरिएको छ।

प्रशासनिक सुधारतर्फ निजामती कर्मचारीको तलब २७ देखि ५६ प्रतिशतसम्म वृद्धि गर्ने तथा कर्मचारी संयन्त्रमा राजनीतिक प्रभाव घटाउन ट्रेड युनियन व्यवस्थामा पुनरावलोकन गर्ने जस्ता कडा निर्णयहरू आउन सक्ने चर्चा छ।

पूर्वाधार विकासका क्षेत्रमा सुरुङमार्गलगायत ठूला आयोजनामा निजी क्षेत्रको लगानी आकर्षित गर्ने रणनीति बजेटमा समेटिने अपेक्षा गरिएको छ। सीमित राजस्व र बढ्दो घाटाबीच आन्तरिक तथा बाह्य ऋणमा निर्भर हुँदै सरकारले आर्थिक पुनर्संरचनामा केन्द्रित बजेट ल्याउने तयारी गरेको छ।

आज प्रस्तुत हुने बजेटले अर्थतन्त्रलाई कुन दिशामा लैजाला भन्ने विषयमा निजी क्षेत्रदेखि सर्वसाधारणसम्मको चासो केन्द्रित भएको छ।