इप्पानमा मोहन डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौं – स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारण सभा तथा ८औँ अधिवेशनबाट मोहन डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ । शनिबार बिहान सम्पन्न अधिवेशनले कोषाध्यक्षबाहेक २५ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।

नयाँ कार्यसमितिमा २७ सदस्यीय संरचनामध्ये संशोधित विधानअनुसार पदाधिकारी तथा सदस्यहरूको व्यवस्था गरिएको छ । वरिष्ठ उपाध्यक्षमा उत्तम ब्लोन लामा चयन हुनुभएको छ भने उपाध्यक्षहरूमा उत्तरकुमार श्रेष्ठ, नरेन्द्र बल्लभ पन्त, विक्रम विष्ट, सुसन कर्माचार्य र हिमप्रसाद पाठक निर्वाचित हुनुभएको छ ।

संशोधित विधानअनुसार उपाध्यक्ष पदमा बलराम खतिवडा र प्रकाशचन्द्र दुलाल थपिएर उपाध्यक्षको संख्या सात पुर्‍याइएको छ । महासचिवमा टीएन आचार्य, उपमहासचिवमा कविता पोखरेल तथा सचिवहरूमा अभिज्ञा मल्ल, ईशा श्रेष्ठ, कुवेरमणि नेपाल, विजयमोहन भट्टराई र सुमनकुमारी जोशी निर्वाचित हुनुभएको छ । साथै संशोधित व्यवस्थाअनुसार सचिवमा कृष्ण घिमिरे र दीपक पौडेल थपिएर सचिवको संख्या सात पुगेको छ ।

कोषाध्यक्षमा शंकर बस्याल निर्वाचित हुनुभएको छ। सदस्यहरूमा अनुप आचार्य, कदम केसी, जगदिश सिवाकोटी, जगतबहादुर पोखरेल, ज्योति गैरे, नारायण कँडेल, प्रतिमा ज्ञवाली, मिलन खड्का, संगीता धमला र वर्णन लामिछाने चयन भएका छन् ।

संशोधित विधानअनुसार जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति भएपछि लागु हुने गरी स्थायी आमन्त्रित सदस्यको रूपमा इन्दिरा पन्त, नारायण खनाल, बाबुराम थापा, सन्तोष नेपाल र सोमनाथ कँडेललाई प्रस्ताव गरिएको छ ।

इप्पानका अध्यक्ष गणेश कार्कीका अनुसार संस्थालाई समावेशी र लोकतान्त्रिक अभ्यासको थलो बनाउने उद्देश्यले विधान संशोधन गरिएको हो। नयाँ व्यवस्थाअनुसार उपाध्यक्ष, सचिव र स्थायी आमन्त्रित सदस्यहरूको संख्या बढाइएको छ भने सबै पदमा निर्वाचन प्रणाली लागू गरिएको छ।

संशोधित विधानअनुसार अध्यक्ष बन्नका लागि सम्बन्धित व्यक्ति कार्यसमितिमा पहिले काम गरिसकेको हुनुपर्ने तथा अध्यक्ष र वरिष्ठ उपाध्यक्ष राजनीतिक दलमा आवद्ध नभएको वा भएमा त्यागेको प्रमाण पेश गर्नुपर्ने व्यवस्था गरिएको छ। संशोधित विधान जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत भएपछि पूर्ण रूपमा कार्यान्वयनमा आउने जनाइएको छ।