नवप्रवर्तनमा लगानी बढाए अर्थतन्त्र सुधार हुन्छ : मन्त्री महावीर पुन

काठमाडौं – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन ले नवप्रवर्तन क्षेत्रमा लगानी विस्तार गर्न सके देशको अर्थतन्त्र सुधार गर्न महत्वपूर्ण योगदान पुग्ने बताएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा विनियोजन विधेयकअन्तर्गत विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पुनले संघीय, प्रदेश र स्थानीय तहका सरकारले आफ्नो पुँजीगत बजेटको कम्तीमा एक प्रतिशत रकम विज्ञान तथा नवप्रवर्तन विकासमा विनियोजन गर्नुपर्ने सुझाव दिए ,।

उनले ‘इनोभेटिभ आइडिया’ भएका व्यक्तिलाई सिर्जनात्मक कार्यका लागि आवश्यक वातावरण, स्रोत र साधन उपलब्ध गराउनु नै वास्तविक नवप्रवर्तन भएको उल्लेख गरे । विगतमा अनुसन्धान गरिए पनि त्यसको व्यावहारिक उपयोगभन्दा कागजमै सीमित रहने प्रवृत्ति रहेको भन्दै अब परिणाममुखी अनुसन्धानमा जोड दिनुपर्ने बताए ।

सरकारले औद्योगिकीकरण र अर्थतन्त्र सुधारलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री पुनले प्रारम्भिक चरणमा बजेटको एक प्रतिशत रकम नवप्रवर्तन क्षेत्रमा छुट्याउनु पर्याप्त हुने धारणा राखे ।

नवप्रवर्तनलाई प्रभावकारी बनाउन कानुनी तथा नीतिगत आधार आवश्यक रहेको बताउँदै उनले यस क्षेत्रसँग सम्बन्धित विभिन्न ऐन, नियमावली र नीतिहरू निर्माणको तयारी भइरहेको जानकारी दिनुभयो। विज्ञान तथा प्रविधि तथ्याङ्क ऐन तथा नेपाल सरकारको कार्यविभाजन नियमावली २०८३ लाई आधार बनाएर मन्त्रालयसँग सम्बन्धित नौ वटा नियमावली बनाउने तयारी भइरहेको उनले बताए ।

मन्त्री पुनका अनुसार विज्ञान तथा नवप्रवर्तन ऐन, विज्ञान ऐन, आणविक ऊर्जा ऐन, राष्ट्रिय अनुसन्धान तथा विकास ऐन, जैविक सुरक्षा तथा जैविक प्रविधि ऐन, रासायनिक पदार्थ व्यवस्थापन ऐन, वैज्ञानिक मापन तथा मेट्रोलोजी ऐन तथा विज्ञान तथा प्रविधि तथ्याङ्क ऐनलगायत आवश्यक कानुन ल्याउने योजना सरकारको छ ।

उनले मन्त्रालयको कार्यसम्पादन प्रभावकारी बनाउन पूर्वाधार निर्माण र कानुनी संरचना विकास पहिलो आवश्यकता रहेको उल्लेख गरे । नेपालजस्तो विकासोन्मुख देशले नवप्रवर्तनलाई आर्थिक विकासको प्रमुख आधार बनाउनुपर्ने बताउँदै उहाँले यसबाट युवाले स्वदेशमै रोजगारी पाउने र अर्थतन्त्र सुदृढ हुने विश्वास व्यक्त गरे ।

मन्त्री पुनले नवप्रवर्तनको महत्वबारे निजी क्षेत्र र उद्योगी व्यवसायीहरूलाई पनि थप जानकारी र सचेतना आवश्यक रहेको धारणा राखे ।