काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्वतको कुस्मा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले कुस्मा वडा नं ७, खरेहामा निर्माणाधीन ज्येष्ठ नागरिक भवन निर्माणमा भ्रष्टाचार भएको ठहर गर्दै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङ, तत्कालीन लेखा अधिकृत कृष्णप्रसाद शर्मा, तत्कालीन इन्जिनियर आशिष शाक्य, मल्ल कन्स्ट्रक्सन एन्ड सप्लायर्स र फर्मका प्रोपाइटर लालबहादुर मल्लविरुद्ध मुद्दा दायर गरेको हो ।
आयोगका अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम रु १ करोड १३ लाख ४४ हजार २१६ रुपैयाँ ८६ पैसा बिगो कायम गरी मुद्दा दायर गरिएको जनाएको छ ।
उनीहरूले आपसी मिलेमतोमा गैरकानुनी लाभ लिई सरकारी रकम हिनामिना गरेका हुन्।
अख्तियारका सहसचिव तथा प्रवक्ता सुरेश न्यौपानेका अनुसार आर्थिक वर्ष २०७८\७९ मा संघीय सरकारको विशेष अनुदान कार्यक्रमअन्तर्गत उक्त भवन निर्माणका लागि रु १ करोड ६६ लाख विनियोजन गरिएको थियो । नगरपालिकाले भ्याट र कन्टिन्जेन्सीसहित रु १ करोड ४४ लाख १० हजार ७२ रुपैयाँ लागत अनुमान तयार गरी मल्ल कन्स्ट्रक्सन एन्ड सप्लायर्ससँग ठेक्का सम्झौता गरेको थियो ।
सम्झौताअनुसार २०७९ असार २४ गतेभित्र काम सम्पन्न गर्नुपर्ने भए पनि निर्माण व्यवसायीले समयमै काम नगरेको र नगरपालिकाले सार्वजनिक खरिद ऐन तथा नियमावलीअनुसार आवश्यक कारबाही नगरेको अनुसन्धानबाट खुलेको छ ।
अख्तियारका अनुसार निर्माण कार्य पूरा नगरी ठेकेदारलाई दुई पटक गरी रु २१ लाख ७६ हजार पेस्की भुक्तानी गरिएको, बैंक जमानत जफत नगरी म्याद गुज्रिन दिइएको, साथै पहिलो बिल मूल्याङ्कनभन्दा रु १२ लाख ५६ हजार ६ रुपैयाँ ६९ पैसा बढी भुक्तानी गरिएको पाइएको छ।
त्यस्तै, ठेक्का सम्झौता अन्त्य गरी नयाँ प्रक्रियामा जानुपर्ने अवस्थामा त्यसो नगर्दा रु ९६ लाख ४१ हजार ८७४ रुपैयाँ ८८ पैसा बराबरको सरकारी सम्पत्तिमा हानी पुगेको र पेस्की फछ्र्यौट नगर्दा ब्याजसहित रु १७ लाख २ हजार ३४१ रुपैयाँ ९८ पैसा नोक्सानी भएको ठहर गरिएको छ।



