यस वर्ष प्रि–मनसुनमा ४५ वर्षयताकै सबैभन्दा बढी वर्षा

काठमाडौं – यस वर्षको प्रि–मनसुन अवधिमा नेपालमा ४५ वर्षयताकै सबैभन्दा बढी वर्षा भएको पाइएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार प्रि–मनसुन याममा नेपालमा औसत २२६ दशमलव ३ मिलिमिटर वर्षा हुने गरेकोमा यस वर्ष औसतको १४५ दशमलव ५ प्रतिशत अर्थात् ३३९ दशमलव ७ मिलिमिटर वर्षा मापन भएको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार सन् १९८१ देखि १२६ वटा वर्षा मापन केन्द्रको तथ्याङ्कका आधारमा प्रि–मनसुन अवधिको विश्लेषण हुँदै आएको छ । सोही तथ्याङ्कअनुसार यस वर्षको वर्षा ४५ वर्षयताकै उच्च हो ।

झापामा अति भारी वर्षा

यसैबीच पछिल्लो २४ घण्टामा झापाको अनारमनी बिर्तामा सबैभन्दा बढी वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त क्षेत्रमा रहेको वर्षा मापन केन्द्रमा पछिल्लो २४ घण्टामा २०८ मिलिमिटर वर्षा मापन भएको छ । विभागका अनुसार २०० मिलिमिटरभन्दा बढी वर्षालाई अति भारी वर्षा मानिन्छ ।

विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार झापा क्षेत्रमा पछिल्ला केही दिनदेखि निरन्तर वर्षा भइरहेको छ ।

झापाका सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंले सीमित क्षेत्रमा खण्डवृष्टि भइरहेको जानकारी दिँदै हालसम्म ठूलो क्षति वा असरको विवरण प्राप्त नभएको बताउनुभयो ।

केही क्षेत्रमा भारी वर्षा, मनसुन नजिकिँदै

विभागका अनुसार इलाम, मोरङ, सुनसरी र सिन्धुलीका केही वर्षा मापन केन्द्रमा समेत भारी वर्षा भएको छ ।

पूर्वी नेपालतर्फ मनसुन प्रवेशको अवस्था नजिकिँदै गएको विभागले जनाएको छ । पश्चिम नेपालका कास्की, लमजुङ र गोरखाका केही स्थानमा समेत भारी वर्षा मापन भएको छ ।

तर यस वर्षको वर्षा धेरै स्थानमा समान रूपमा नभई सीमित क्षेत्रमा केन्द्रित खण्डवृष्टिका रूपमा देखिएको विभागले जनाएको छ । पछिल्लो अवस्थाले मनसुन सुरु हुनुअघि नै विपद् जोखिम व्यवस्थापनमा सतर्कता आवश्यक देखिएको मौसमविद्हरूको भनाइ छ ।