पोखरा महानगरले ल्यायो ७ अर्ब १५ करोडको बजेट, विकास खर्चको गति भने सुस्त

पोखरा – पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब १५ करोड २५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

समुन्नत पर्यटकीय पोखरा निर्माण गर्ने लक्ष्यसहित महानगरले ल्याएको बजेटमा चालुतर्फ ५५.१ प्रतिशत र पूँजीगततर्फ ४४.९ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

महानगरका मेयर धनराज आचार्यले बिहीबार नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि शुक्रबार उपमेयर मञ्जुदेवी गुरुङले १९औं नगर सभामा बजेट सार्वजनिक गरेकी हुन् ।

आगामी वर्षको बजेट स्रोत व्यवस्थापनका लागि संघीय सरकारबाट प्राप्त हुने वित्तीय हस्तान्तरणबाट ३ अर्ब १८ करोड ६० लाख रुपैयाँ आउने अनुमान गरिएको छ । यसमध्ये सशर्त अनुदानतर्फ २ अर्ब ६१ करोड ९१ लाख, विशेष अनुदान ५ करोड ५० लाख, पूरक अनुदान १ करोड ८२ लाख र समानीकरण अनुदान ४९ करोड ३७ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, गण्डकी प्रदेश सरकारबाट वित्तीय हस्तान्तरणमार्फत ९ करोड १५ लाख ३६ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

महानगरले आगामी आर्थिक वर्षमा आन्तरिक तथा अन्य स्रोतबाट २ अर्ब ४८ करोड ७३ लाख ९१ हजार रुपैयाँ जुटाउने लक्ष्य राखेको छ । राजस्व बाँडफाँटसहित महानगरको कुल आन्तरिक आय ३ अर्ब ८७ करोड ४९ लाख ६४ हजार रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ ।

चालु बजेट कार्यान्वयनमा कमजोर देखिएको महानगर

महानगरले नयाँ बजेट सार्वजनिक गर्दै चालु आर्थिक वर्षको बजेट कार्यान्वयन अवस्थासमेत समीक्षा गरेको छ ।

चालु आर्थिक वर्ष २०८२/८३ का लागि ८ अर्ब ३५ करोड १२ लाख रुपैयाँको बजेट ल्याएको महानगरले जेठ मसान्तसम्म ३ अर्ब ३४ करोड ६ लाख ४३ हजार रुपैयाँ मात्रै खर्च गर्न सकेको छ । यो कुल बजेटको ४० प्रतिशत मात्र हो ।

चालु खर्चतर्फ भने तुलनात्मक रूपमा प्रगति राम्रो देखिएको छ । चालुतर्फ विनियोजित ३ अर्ब ५१ करोड ३२ लाख ८९ हजार रुपैयाँमध्ये २ अर्ब १६ करोड ९७ लाख ९५ हजार रुपैयाँ खर्च भएको छ । यो ६१.७ प्रतिशत हो ।

तर विकास निर्माणसँग जोडिएको पूँजीगत खर्च भने निकै कमजोर देखिएको छ । पूँजीगततर्फ छुट्याइएको ४ अर्ब ८३ करोड ७९ लाख ११ हजार रुपैयाँमध्ये जेठ मसान्तसम्म १ अर्ब ७७ करोड ८ लाख ४७ हजार रुपैयाँ मात्रै खर्च भएको छ । यो २४.२ प्रतिशत मात्र हो ।

राजस्व संकलन पनि लक्ष्यअनुसार भएन

पोखरा महानगरले चालु आर्थिक वर्षमा आन्तरिक आयतर्फ ४ अर्ब ६१ करोड ४० लाख ५४ हजार रुपैयाँ उठाउने लक्ष्य राखेको थियो । तर जेठ मसान्तसम्म २ अर्ब १२ करोड ३८ लाख रुपैयाँ मात्रै संकलन भएको छ ।

यो लक्ष्यको ४६.०२ प्रतिशत मात्र हो ।

संघीय सरकारबाट प्राप्त हुने वित्तीय हस्तान्तरणतर्फ भने लक्ष्यको ७६.५ प्रतिशत रकम प्राप्त भएको छ । त्यस्तै गण्डकी प्रदेश सरकारबाट आउने वित्तीय हस्तान्तरण शतप्रतिशत प्राप्त भएको महानगरले जनाएको छ ।

नयाँ बजेटमार्फत पर्यटकीय पूर्वाधार, सहरी विकास र सेवा प्रवाहलाई प्राथमिकता दिने दाबी गरेको महानगरका लागि विगतको कमजोर पूँजीगत खर्च कार्यान्वयन मुख्य चुनौतीका रूपमा देखिएको छ ।