रास्वपा महाधिवेशन : प्रतिनिधिहरूको प्रवेश कार्ड वितरण हुँदै, बन्दसत्र आज दिउँसो १ बजेबाट

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको बन्दसत्र आज दिउँसो १ बजेबाट सुरु हुने भएको छ । प्राविधिक कारणले हिजो बन्दसत्र सुरु हुन नसकेको पार्टीले जनाएको छ ।

रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले आज बिहान जानकारी दिँदै हाल महाधिवेशन प्रतिनिधिहरूको प्रवेश कार्ड वितरण भइरहेको बताए । कार्ड वितरण सम्पन्न भएपछि खाना खाएर बन्दसत्र सुरु गरिने उनको भनाइ छ ।

उनका अनुसार यसअघि अनुमान गरिएको २ हजार ८ सयदेखि ३ हजार प्रतिनिधिको संख्या बढेर ४ हजार २ सयभन्दा बढी पुगेपछि व्यवस्थापनमा केही प्राविधिक समस्या देखिएको थियो, जसका कारण हिजो कार्यक्रम सुरु हुन नसकेको हो ।

पराजुलीले सबै प्रक्रिया पूरा गरेर आज दिउँसो १ बजेसम्ममा बन्दसत्र सुरु गर्ने तयारी गरिएको जानकारी दिए ।

उनले बन्दसत्र ढिलाइ हुँदा महाधिवेशन प्रतिनिधि तथा सञ्चारकर्मीलाई परेको असुविधाप्रति क्षमासमेत गरे ।