अध्यक्ष यादवको छुवाछुत घटना : मानव अधिकार आयोगको सोधपुछ सुरु

सिरहा, चैत्र १ गते । भगवानपुर गाउँपालिकामा दलित समुदायलाई छुवाछुत गरिएको घटनाको स्थलगत छानविनमा राष्ट्रिय मानव अधिकार आयोगको टोलीले अनुसन्धान सुरु गरेको छ । गाउँपालिकाका अध्यक्ष उग्र नारायण यादवको आमाको शुद्धि भोजमा छुवाछुत भएको घटना सार्वजनिक भए पछि आयोगले अनुसन्धान सुरु गरेको हो ।

मधेस प्रदेशको राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयकी अधिकृत मञ्जु खतिवडाको नेतृत्वमा स्थलगत छानविन गर्न टोली सिरहा पुगेको छ । आयोगको टोलीले पहिलो चरणमा सिरहाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा र जिल्लाका प्रहरी प्रमुख टेकुनन्द इवा लिम्बुसँग सोधपुछ गरिने छ भने दोश्रो चरणमा भोज स्थलमा गएर पीडित दलितहरुसँग सोधपुछ गरी घटनाबारे सत्य तथ्य संकलन गर्ने कार्यतालिकासहित टोलीले अनुसन्धान सुरु गर्नेछ ।

खतिवडाका अनुसार जिल्लामा रहेका दलित तथा मानव अधिकारकर्मी र अन्य देखि जान्ने व्यक्तिहरुसँग पनि सत्यतथ्य बुझने कार्य हुनेछ भने भोजमा पोष्टर झुन्ड्याएर र माइकिङ्ग गरेको जान्दाजान्दै भोज खाने जनप्रतिनिधी र प्रशासन प्रमुखहरुसँग समेत सोधपुछ गरिनेछ।

मानव अधिकार हनन् गर्नेहरुको नाम तोक्ने, कसुरको मात्रा निर्क्यौल गर्ने, लज्जित गर्ने र दण्डनीय कारबाही गरिने अधिकृत खतिवडाले बताउनुभयो । ‘जनप्रतिनिधीकै घरमा यस्तो खालको हर्कत हुनुले समाजमा नकारात्मक संदेश गएको छ, यसलाई गम्भिरतापूर्वक आयोगले हेरिरहेको छ,’ उहाँले भन्नुभयो, ‘सुनियोजित ढङ्गले यो कार्य गरेको पाइएमा पालिका अध्यक्षलाइ कानुनी कारबाही गरिनेछ ।’