काठमाडाैं – नेपाल विद्युत् प्राधिकरणको आम्दानी बढे पनि गत आर्थिक वर्ष २०८२/८३ मा नाफा भने घटेको छ। प्राधिकरणले गत आवमा करअघिको नाफा पाँच अर्ब चार करोड रुपैयाँमा सीमित भएको जनाएको छ।
यो अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा तीन अर्ब ८७ करोड रुपैयाँ अर्थात् ४३ प्रतिशतले कम हो। अघिल्लो आवमा प्राधिकरणको करअघिको नाफा आठ अर्ब ९१ करोड रुपैयाँ थियो।
प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार गत आवमा विद्युत् बिक्री तथा अन्य आम्दानीबाट प्राधिकरणले कुल एक खर्ब ६६ अर्ब रुपैयाँ आम्दानी गरेको छ। विद्युत् बिक्रीबाट मात्रै भएको आम्दानी अघिल्लो आवको तुलनामा १८ दशमलव २० प्रतिशतले बढेर एक खर्ब ४८ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ।
प्राधिकरणका अनुसार समग्र कार्यसम्पादनमा सुधार, विद्युत् चुहावट न्यूनीकरण तथा विद्युत् निर्यातमा भएको वृद्धिका कारण आम्दानी बढेको हो। कुल सञ्चालन नाफासमेत अघिल्लो वर्षको तुलनामा ७ दशमलव २८ प्रतिशतले वृद्धि भएको प्राधिकरणले जनाएको छ।
तर, विदेशी विनिमय दरमा भएको वृद्धिका कारण प्राधिकरणले व्यहोर्नुपर्ने दायित्व उल्लेख्य बढेको छ। श्रेष्ठका अनुसार यस्तो दायित्व अघिल्लो आवको तुलनामा २७२ दशमलव ८६ प्रतिशतले बढेर ११ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ।
ह्रास कट्टी तथा ब्याज खर्चमा भएको वृद्धि र इम्पेयरमेन्ट नोक्सानीका लागि गरिएको व्यवस्थाका कारण खुद नाफामा कमी आएको श्रेष्ठले बताउनुभयो।
५२९ मेगावाट विद्युत् थपियो
आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म नेपालको कुल जडित विद्युत् उत्पादन क्षमता चार हजार १२० मेगावाट पुगेको छ। गत आवमा मात्रै राष्ट्रिय प्रसारण प्रणालीमा ५२९ मेगावाट विद्युत् थप भएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका विद्युत् ग्राहकको संख्या पनि ३ दशमलव ८५ प्रतिशतले बढेर ५९ लाख २७ हजार पुगेको छ। कुल ग्राहकमा घरेलु ग्राहकको हिस्सा ९० दशमलव ६४ प्रतिशत, औद्योगिक ग्राहकको एक दशमलव २० प्रतिशत र अन्य ग्राहकको हिस्सा ८ दशमलव १६ प्रतिशत रहेको छ।
यस अवधिमा आन्तरिक विद्युत् खपत ९ दशमलव २७ प्रतिशतले वृद्धि भएको छ। विद्युत् चुहावट भने अघिल्लो आर्थिक वर्षको १२ दशमलव २६ प्रतिशतबाट घटेर १२ दशमलव १६ प्रतिशतमा झरेको छ।
विद्युत् निर्यातबाट २९ अर्ब आम्दानी
गत आर्थिक वर्षमा नेपालले १० अर्ब ५६ करोड रुपैयाँ बराबरको विद्युत् आयात गरेको छ। सोही अवधिमा २९ अर्ब ३१ करोड रुपैयाँ बराबरको विद्युत् निर्यात गरी आम्दानी गरेको प्राधिकरणले जनाएको छ।
विद्युत् निर्यातबाट भएको आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा ६८ प्रतिशतले बढी हो। आन्तरिक खपत वृद्धि र विद्युत् निर्यात बढेसँगै प्राधिकरणको विद्युत् बिक्रीबाट हुने आम्दानीमा सुधार आए पनि वित्तीय खर्च तथा विदेशी विनिमयसम्बन्धी दायित्व बढ्दा नाफामा भने दबाब परेको देखिएको छ।



