काठमाडाैं – प्रतिनिधिसभा बैठकमा सांसदहरूले खाना पकाउने एलपिजी ग्यासको विकल्पका रूपमा विद्युतीय चुलोको प्रयोग बढाउन सरकारको ध्यानाकर्षण गराएका छन्। वातावरण प्रदूषण नियन्त्रण तथा ग्यास आयात प्रतिस्थापनका लागि विद्युतीय चुलो प्रवर्द्धन गर्नुपर्ने उनीहरूको धारणा छ।
प्रतिनिधिसभाको मंगलबारको बैठकको आकस्मिक समयमा बोल्दै सांसद श्रीराम न्यौपानेले वातावरण प्रदूषण नियन्त्रण र ग्यास आयात प्रतिस्थापनका लागि विद्युतीय चुलोको प्रयोग बढाउनुपर्ने बताएका छन् ।
“वातावरण प्रदूषण नियन्त्रण गर्न र ग्यास आयात प्रतिस्थापन गर्न विद्युतीय चुलोमा जानुपर्छ,” उनले भने ।
सांसद न्यौपानेले मनसुनजन्य विपद्का कारण विभिन्न सडकखण्ड अवरुद्ध हुँदा सर्वसाधारणको जनजीवन कष्टकर बन्दै गएको विषयमा समेत सरकारको ध्यानाकर्षण गराए ।
बैठकमा सांसद धनबहादुर बुढाले डोल्पामा पहिरोका कारण सडक अवरुद्ध हुँदा खाद्यान्न तथा विकास निर्माणका सामग्री ढुवानीमा समस्या भएको बताए । उनले विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत तथा पुनःस्थापनाको व्यवस्था गर्न सरकारसँग माग गरे ।
सांसद प्रेमबहादुर बयकले सडक दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या बढिरहेको भन्दै सडक सुरक्षासम्बन्धी नीति प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए ।
त्यस्तै, सांसद प्रकाश पाठकले झापामा जङ्गली हात्तीका कारण स्थानीयवासी समस्यामा परेको बताउँदै बस्तीमा प्रवेश गर्ने हात्तीको व्यवस्थापनका लागि प्रभावकारी उपाय अवलम्बन गर्न सरकारसँग माग गर्नुभयो। उहाँले सरकारले परिणाममुखी काम गर्नुपर्नेमा जोड दिए ।
सांसद पूर्णप्रसाद लिम्बूले सङ्खुवासभाको भोटखोला गाउँपालिकामा अविरल वर्षाका कारण विद्युत् सेवा प्रभावित भएपछि स्थानीयवासी सौर्य ऊर्जामा निर्भर हुनुपरेको विषयमा सरकारको ध्यानाकर्षण गराए ।
यसैबीच, सभामुख डोलप्रसाद अर्यालले सदनमा उठेका विषयमा प्रधानमन्त्रीलाई जवाफ दिन सोमबारको बैठकमा रुलिङ गरेका छन् । त्यसपछि विपक्षी सांसदहरूले बैठकको सुरुआतमै आ–आफ्नो स्थानबाट उठेर प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिको विरोध गर्दै आएको क्रम मंगलबारदेखि अन्त्य गरेका छन्।


