काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ। बैठक वनस्थलीस्थित केन्द्रीय कार्यालय ‘घण्टी घर’मा बिहान ११ बजेका लागि बोलाइएको छ।
रास्वपाका महामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठकमा पार्टीका दस्तावेज, सङ्गठन व्यवस्थापन तथा मनोनयन, योजना, कार्यक्रम र अभियानलगायत विषयमा छलफल हुने कार्यसूची रहेको छ।
पार्टीका दस्तावेजअन्तर्गत स्थानीय निर्वाचनका लागि ‘उम्मेदवार छनोट रूपरेखा–२०८३’ अनुमोदन तथा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माणका विषयमा छलफल हुनेछ।
त्यस्तै, सङ्गठन व्यवस्थापन तथा मनोनयनअन्तर्गत केन्द्रीय समिति सदस्य, पदाधिकारी, सचिवालय सदस्य र विभागीय प्रमुखहरूको मनोनयन गर्ने विषय बैठकमा प्रस्तुत हुने जनाइएको छ।
स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयनको विषयमा समेत बैठकले छलफल गर्नेछ।
योजना, कार्यक्रम तथा अभियानअन्तर्गत केन्द्रीय समिति तथा प्रतिनिधिसभा सदस्यको नेतृत्वमा स्थानीय तहमा ‘उम्मेदवार छनोट रूपरेखा’ सम्बन्धी अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने विषयमा छलफल हुनेछ।
बैठकमा पार्टीको मुखपत्रका रूपमा ‘स्वतन्त्र’ मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने सम्बन्धमा पनि छलफल हुने महामन्त्री आचार्यले जानकारी दिनुभएको छ।



