भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आज वर्षा हुने सम्भावना, उद्धारमा चुनौती

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ आसपासका क्षेत्रमा आज दिउँसो वर्षा हुने सम्भावना रहेकाले खोज तथा उद्धार कार्य प्रभावित हुने देखिएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बाढी प्रभावित क्षेत्रमा अहिले बादल लागेको छ । दिउँसो मौसम बदली भई वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ ।

विभागका मौसमविद् डेविट ढकालका अनुसार रसुवा, नुवाकोट र धादिङमा दिउँसो मध्यमसम्मको वर्षा हुने सम्भावना छ भने एक–दुई स्थानमा भारी वर्षासमेत हुनसक्छ । उनका अनुसार अपराह्न ४ बजेपछि भने खोज तथा उद्धारका लागि मौसम केही अनुकूल हुने सम्भावना छ ।

विभागका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका साथै कर्णाली प्रदेशको पहाडी भू–भाग र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

देशका हिमाली तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

यसैबीच, विज्ञहरूले भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रमा बाढीको जोखिम अझै कायम रहेको बताएका छन् । माथिल्लो क्षेत्रमा बनेको हिमताल फुट्ने सम्भावनासमेत रहेकाले थप वर्षाले राहत तथा उद्धार कार्यमा थप समस्या निम्त्याउन सक्ने भन्दै विज्ञहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

विषम परिस्थितिलाई ध्यानमा राख्दै नदी तटीय क्षेत्रमा रहेका प्रभावित बासिन्दा तथा खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी र अन्य जनशक्तिलाई विशेष सतर्कता अपनाउन विज्ञहरूले आग्रह गरेका छन् ।