बाढी प्रभावित नुवाकोट पुगेर अर्थमन्त्री वाग्लेले भने : उद्धार, उपचार र पुनर्स्थापनामा सरकारले पूर्ण साथ र सहयोग रहन्छ

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी प्रभावित नुवाकोटका विभिन्न क्षेत्रमा पुगेर उद्धार, राहत तथा पुनर्स्थापनाको स्थलगत अनुगमन गरेका छन् ।

शनिबार बिहान नुवाकोट सदरमुकाम विदुर पुगेका अर्थमन्त्री वाग्लेले नेपाली सेनाको नेतृत्वमा सञ्चालित ‘राहत तथा उद्धार कमाण्ड पोस्ट’ पुगेर भइरहेका उद्धार तथा राहत वितरणका कामबारे जानकारी दिए ।

उक्त क्रममा उद्धार कार्यको नेतृत्व गरिरहेका नेपाली सेनाका उपरथी रञ्जित थापाले बाढीपीडितको उद्धार तथा राहतमा प्रभावकारी रूपमा काम भइरहेको जानकारी दिए । उनका अनुसार हराइरहेका व्यक्तिको जीवितै उद्धारलाई पहिलो प्राथमिकतामा राखेर बुधबारदेखि नै काम भइरहेको छ । पछिल्लो समय विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेका व्यक्तिको उद्धारलाई उच्च प्राथमिकता दिइएको उनले बताए ।

उद्धारसँगै विस्थापितलाई अस्थायी बसोबास, खाद्यान्न तथा अन्य राहत सामग्री वितरणको काम पनि भइरहेको जानकारी दिँदै उपरथी थापाले बाढी प्रभावित क्षेत्रमा तत्काल ‘बेलिब्रिज’ आवश्यक रहेको बताए ।

अर्थमन्त्री वाग्लेले उद्धार, उपचार तथा पुनर्स्थापनामा सरकारले पूर्ण साथ र सहयोग गर्ने बताउँदै नेपाली सेनालाई स्रोतसाधनको अभाव हुन नदिने प्रतिबद्धता जनाए । उनले कुनै पनि सहयोग आवश्यक परे निर्धक्क भएर समयमै जानकारी गराउन आग्रह गरे ।

त्यसपछि अर्थमन्त्री वाग्लेले नेपाली सेनाको गौथली ब्यारेकस्थित हवाई उद्धार केन्द्र तथा राहत सामग्री सङ्कलन र वितरण केन्द्रको निरीक्षण गरे । उनले उद्धार केन्द्रमा आफन्तको खोजीका लागि पुगेका पीडित परिवारजनसँग भेट गरी उनीहरूका समस्या सनाए ।

नुवाकोट तथा रसुवाका विभिन्न जलविद्युत् आयोजनामा परिवारका सदस्य फसेको भन्दै उनीहरूको उद्धारका लागि परिवारजनले अर्थमन्त्रीसँग आग्रह गरेका थिए । जवाफमा अर्थमन्त्री वाग्लेले सुरुङमा फसेका नागरिकको उद्धारलाई उच्च प्राथमिकतामा राखिएको जानकारी दिँदै परिवारजनलाई नेपाली सेना तथा अन्य सुरक्षा निकायमाथि विश्वास गर्न आग्रह गरे ।

बाढीले ध्वस्त क्षेत्रको निरीक्षण

अर्थमन्त्री वाग्लेले त्यसपछि बाढीले क्षति पुर्‍याएको ढुङ्गे बजार पुगेर उद्धार कार्यको अवलोकन गरे । उनले पीडित परिवारसँग भेट गरी क्षतिको अवस्था र सरकारले तत्काल गर्नुपर्ने कामबारे सुझाव दिए ।

त्यसपछि उनी ऐतिहासिक देवीघाट बजार पुगे । बाढीले क्षतिग्रस्त बजारको निरीक्षण गर्दै स्थानीयवासीसँग भेट गरेका उनले सरकार पीडितको साथमा रहेको बताए । हराएका आफन्तको खोजी, राहत, उपचार तथा पुनर्स्थापनामा सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

उनले गल्छी–रसुवागढी सडकखण्डअन्तर्गत देवीघाट र जिलिङ जोड्ने क्षतिग्रस्त पक्की पुल क्षेत्रको समेत निरीक्षण गरे । त्यसैगरी तल्लो पिपलटारस्थित आयुर्वेदिक केन्द्र तथा चन्द्रज्योति स्कुलमा रहेको होल्डिङ सेन्टर पुगेर देवीघाटबाट उद्धार गरिएका स्थानीयवासीसँग भेट गरी उनीहरूको अवस्था र समस्याबारे जानकारी दिए ।

बाढीमा बगिरहेको अवस्थामा उद्धार गरिएका स्थानीयवासीसँग भेट गरी अर्थमन्त्री वाग्लेले स्वास्थ्य अवस्थाबारे जानकारी दिए । उनले उनीहरूलाई थप स्वास्थ्यलाभको कामना गर्दै उचित पुनर्स्थापना गरिने बताए । साथै, स्वास्थ्य उपचारमा खटिएको सशस्त्र प्रहरीको चिकित्सक टोलीसँग भेट गरी आवश्यक स्रोतसाधनबारे जानकारी दिए ।

विपद्पछिको प्रतिकार्यमा एकजुट हुन आग्रह

यसैबीच, अर्थमन्त्री वाग्ले र सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले नुवाकोटका जनप्रतिनिधि तथा राजनीतिक दलका नेतृत्वसँग विपद्पछिको उद्धार, राहत, उपचार तथा पुनर्स्थापनाका विषयमा छलफल गरे ।

जिल्ला समन्वय समितिको हलमा अर्थमन्त्रीको पहलमा आयोजित छलफलमा उनले केन्द्र सरकारबाट आवश्यक स्रोतसाधनको अभाव हुन नदिने स्पष्ट पारे । उनले विपद्को समयमा सबै पक्ष एकजुट भएर प्रतिकार्यमा लाग्न आग्रह गर्दै आर्थिक स्रोतको अभाव हुन्छ कि भन्ने चिन्ता नगरी प्रभावित नागरिकलाई आवश्यक सेवा उपलब्ध गराउन निर्देशन दिए ।

दिनभरको उद्धार, राहत तथा पुनर्स्थापनाको अवस्थाबारे अन्तिम सुरक्षा ब्रिफिङका लागि अर्थमन्त्री वाग्ले नेपाली सेनाको विदुर कमाण्ड सेन्टर पुगे । त्यहाँ उनले विपद्पछिको उद्धारमा खटिनुभएका गृहमन्त्री सुदन गुरुङ, सञ्चारमन्त्री डा. विक्रम तिमल्सिना तथा नेपाली सेनाका उच्च अधिकारीबाट पछिल्लो अवस्थाबारे जानकारी दिए ।

ब्रिफिङअनुसार जलविद्युत् आयोजनाका सुरुङमा फसेका व्यक्तिको उद्धार अहिले उच्च प्राथमिकतामा रहेको छ । नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले मृतकका शव सङ्कलन तथा राहत वितरणको कामलाई समेत तीव्रता दिएको छ ।