मुस्ताङ – मुस्ताङका स्याउ बगैँचामा छिटो पाक्ने जातका स्याउको ‘पोस्ट हार्भेस्ट’ सुरु भएको छ। जिल्लास्थित सरोकारवाला निकायले छिटो पाक्ने स्याउ टिप्ने समय भदौ १५ गते तोकेपछि किसान तथा व्यापारीले बगैँचाबाट स्याउ टिप्न थालेका हुन्।
मुस्ताङमा उत्पादित स्याउको गुणस्तर कायम राख्दै व्यवस्थित बिक्री–वितरण गर्ने उद्देश्यले जिल्ला समन्वय समितिको पहलमा स्याउ टिप्ने कार्यतालिका सार्वजनिक गरिएको थियो। पाँच स्थानीय तहका जनप्रतिनिधि, कृषि तथा पशु विकास कार्यालय, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ, स्थानीय प्रशासन तथा कृषक प्रतिनिधिको सहभागितामा छिटो र ढिलो पाक्ने स्याउ टिप्ने समय निर्धारण गरिएको हो।
कार्यतालिकाअनुसार छिटो पाक्ने स्याउ भदौ १५ गतेदेखि र ढिलो पाक्ने स्याउ भदौ २२ गतेदेखि टिप्न पाइने निर्णय गरिएको छ। स्याउको गुणस्तर, स्वाद र गुलियोपना कायम राख्नुका साथै बजारको माग पूरा गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो।
कृषि तथा पशु विकास कार्यालय मुस्ताङका प्रमुख डा. लालमणि अर्यालका अनुसार जिल्लामा छिटो पाक्ने स्याउ सोमबारदेखि टिप्न सुरु भएको हो। थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा उच्चघनत्व प्रविधिमा आधारित ‘हाइब्रिड’ गाला र गोल्डेन जातका स्याउ टिप्न थालिएको उनले जानकारी दिए।
हरितालिका तीजलाई लक्षित गरी किसान तथा व्यापारीले छिटो पाक्ने स्याउ टिपेर बजार पठाउने तयारी गरेका छन्। उच्चघनत्व प्रविधिमा आधारित गाला र गोल्डेन जातका स्याउ बगैँचामै धमाधम टिप्ने तथा बजार पठाउने काम भइरहेको छ।
ग्रीन मुक्ति कृषि तथा पशुपन्छी विकास फार्मका व्यवस्थापक राम तामाङका अनुसार स्थानीय भीम गुरुङको बगैँचामा पनि सोमबारदेखि स्याउ टिप्न सुरु गरिएको छ। जिल्लास्तरीय बोर्ड बैठकले निर्धारण गरेको कार्यतालिकाअनुसार स्याउ टिपेर ग्रेडिङ, प्याकेजिङ तथा ढुवानीमार्फत काठमाडौं पुर्याउने तयारी भइरहेको उनले बताए।
भीम गुरुङको बगैँचामा स्याउ टिप्ने, क्रेटमा राखेर स्टोरमा लैजाने, ग्रेडिङ, नापतौल, प्याकेजिङ तथा गाडीमा लोड गर्ने कामका लागि करिब तीन दर्जन कामदार परिचालन गरिएको छ।
व्यवस्थापक तामाङका अनुसार ४० रोपनी क्षेत्रफलमा उत्पादन भएको उच्चघनत्व प्रविधिको छिटो पाक्ने हाइब्रिड स्याउ टिपेर दुई दिनभित्र काठमाडौं पुर्याउने योजना छ। हाइब्रिड स्याउको टिपाइ सुरु भए पनि स्थानीय जातको ‘लोकल’ स्याउ भने भदौपछि मात्रै टिपिने उनले बताए।
यसैगरी घरपझोङ–५, ढुम्बास्थित चिम्ले अचार्ड कृषि फार्मले पनि स्याउ टिप्ने तयारी गरेको छ। तर काठमाडौं जाने सडक अवरुद्ध भएकाले केही दिनपछि मात्रै टिपाइ सुरु गर्ने योजना रहेको फार्मका व्यवस्थापक आइतराम तामाङले जानकारी दिए। फार्ममा उत्पादन हुने छिटो तथा ढिलो पाक्ने सबै जातका स्याउ काठमाडौंमा बिक्री गर्ने योजना रहेको उनले बताए।
स्याउ टिप्ने मौसम सुरु भएसँगै मुस्ताङका बगैँचा लटरम्म स्याउले भरिएका छन् भने व्यापारीको चहलपहल पनि बढेको छ। व्यापारीले साउनअघि नै किसानका बगैँचामा पुगेर बैनापट्टा गर्ने र सिजन सुरु भएपछि स्याउ संकलनका लागि मुस्ताङ पुग्ने गरेका छन्।
कृषि तथा पशु विकास कार्यालय मुस्ताङका अनुसार गत वर्ष जिल्लामा करिब रु. ९० करोडभन्दा बढीको स्याउ उत्पादन भएको थियो। उत्पादित स्याउमध्ये करिब ८० प्रतिशत जिल्ला बाहिर निकासी भएको थियो भने २० प्रतिशत जिल्लामै खपत भएको थियो।
मुस्ताङमा करिब एक हजार ४०० हेक्टर क्षेत्रफलमा स्याउखेती हुँदै आएको छ। पछिल्लो समय किसानले छिटो उत्पादन दिने र उत्पादन तथा व्यवस्थापनमा सहज हुने उच्चघनत्व प्रविधिमा आधारित हाइब्रिड स्याउखेतीतर्फ आकर्षण बढाउँदै लगेका छन्।



