विपद्का बेला सरकारलाई थकित भयो भनेर विश्राम लिने छुट छैन : प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले विपद्का समयमा सरकारलाई थकित भयो भन्दै विश्राम लिने छुट नभएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले सङ्कटको घडीमा देशको नेतृत्वले आँसु होइन, जनतालाई हिम्मत, आड र भरोसा दिनुपर्ने बताए । यही यथार्थलाई स्वीकार गर्दै सरकार अहोरात्र उद्धार, राहत तथा व्यवस्थापनमा खटिरहेको उनले उल्लेख गरे ।

प्रधानमन्त्री शाहले मन भक्कानिए पनि एक–आपसमा बिलौना गर्ने समय नभएको बताए । विपत्तिसँग दृढ सङ्कल्प र साहसका साथ लड्नुको विकल्प नरहेको उनकाे भनाइ थियो ।

“सोही दृढ सङ्कल्प र साहसका साथ यो विपत्तिसँग लड्नुको हामीसँग अर्को विकल्प थिएन र छैन । हामी लडिरहेका छौँ,” प्रधानमन्त्री शाहले भने ।

यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले आफ्ना सपना बुनिरहेका बालबालिका तथा हाँसोखुसीका साथ जीवन बिताइरहेका आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीलाई क्षणभरमै खोसेर लगेको उनले बताए ।

प्रधानमन्त्री शाहले अकल्पनीय विपत्तिमा परी ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरे । उनले बाढीमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरे ।

अझै आफ्ना आफन्त फेला नपरेर बाटो हेरिरहेका नागरिकको पीडा आफूले गहिरोसँग महसुस गरेको प्रधानमन्त्री शाहले बताए ।

“यो पीडा रसुवा, नुवाकोट वा धादिङको मात्र होइन, यो सिङ्गो नेपालको छातीमा परेको साझा बज्रपात हो । बाढीमा परेका नागरिकको कारुणिक चित्कार सुन्दा मेरो छाती चिसो हुन्छ,” उनले भने ।

प्रधानमन्त्री शाहले बाढी प्रभावितहरूको जीवनरक्षाका लागि सरकारले गरिरहेका खोज तथा उद्धार, राहत तथा पुनःस्थापनाका कामबारे प्रतिनिधिसभालाई विस्तृत जानकारीसमेत गराए ।

भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको छ । बाढीपछि बेपत्ता भएकाहरूको खोजी, घाइतेको उपचार, प्रभावितलाई राहत तथा क्षतिग्रस्त संरचनाको व्यवस्थापनका काम जारी छन् ।

प्रधानमन्त्रीले विपद्को यस कठिन घडीमा राज्यका सबै संयन्त्रलाई परिचालन गरी प्रभावित नागरिकको जीवनरक्षा र उद्धारलाई उच्च प्राथमिकतामा राखिएको बताए ।