काठमाडौं – रसुवाको सीमावर्ती क्षेत्र रसुवागढी तथा भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि दलित महिला संघ (फेडो) ले २ लाख १४ हजार ५५ रुपैयाँ सहयोग गरेको छ ।
फेडोले भदौ १७ गते जारी गरेको विज्ञप्तिमार्फत राष्ट्रिय विपद्को यस घडीमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको हो । फेडोका अनुसार उक्त रकम संस्थाको कार्यसमिति तथा कर्मचारीबाट स्वेच्छिक रूपमा संकलन गरिएको हो ।
बाढीका कारण भएको जनधनको ठूलो क्षतिप्रति दुःख व्यक्त गर्दै फेडोले घटनामा ज्यान गुमाउने सम्पूर्ण मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ ।
फेडोले आगामी दिनमा सरकारसँग समन्वय गरी विपद्बाट प्रभावित परिवारका लागि आवश्यक राहत वितरण तथा पुनर्स्थापनाका कार्यमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ ।
विज्ञप्तिमा विपद्को कठिन घडीमा प्रभावित परिवारको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि सबै नागरिक, संघसंस्था तथा शुभेच्छुकहरूलाई सक्दो सहयोग गर्न आह्वान गरिएको छ ।
फेडोकी अध्यक्ष कला स्वर्णकारद्वारा जारी विज्ञप्तिमा सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको जानकारी दिइएको छ । साथै, फेडोले ३१ अगस्ट २०२६ मा प्रभु बैंक लिमिटेड, पुल्चोक शाखालाई पत्राचार गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खाता नम्बर १४३०१०००३७६२००१ मा रु. २,१४,०५५ हस्तान्तरण गर्न निर्देशन दिएको विवरणसमेत सार्वजनिक गरेको छ ।
फेडोले जातीय तथा लैङ्गिक विभेदविरुद्ध काम गर्दै न्यायपूर्ण र समतामूलक समाज निर्माण गर्ने उद्देश्यसहित विपद्का बेला प्रभावित समुदायलाई सहयोग गर्दै आएको जनाएको छ ।



