सिक्टा सिँचाइ आयोजनाको बजेट करिब एक अर्बले बढ्यो

नेपालगञ्ज – बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइ आयोजनाका लागि आगामी आर्थिक वर्ष २०८३/८४ मा बजेट उल्लेख्य रूपमा वृद्धि गरिएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार सङ्घीय संसद्मा प्रस्तुत गर्नुभएको बजेटमार्फत आयोजनाका लागि रु दुई अर्ब ५५ करोड विनियोजन गरिएको छ । चालु आर्थिक वर्ष २०८२/८३ मा आयोजनाका लागि रु एक अर्ब ५७ करोड बजेट विनियोजन गरिएको थियो ।

आयोजनाका सूचना अधिकारी तथा सिनियर डिभिजनल इञ्जिनियर मनोजकुमार साहका अनुसार गत आर्थिक वर्षको तुलनामा यस वर्ष करिब रु एक अर्ब बढी बजेट प्राप्त भएको छ । बजेट वृद्धि भएसँगै निर्माणाधीन संरचनाको कामलाई थप तीव्रता दिन सहज हुने अपेक्षा गरिएको छ ।

हाल आयोजनाअन्तर्गत डुडुवा शाखा नहर निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । साथै सिधनिया, प्रसेनीपुर र अकलघरवा शाखा नहरका लागि ठेक्का सम्झौता भई निर्माण प्रक्रिया अघि बढाइएको छ । गुरुवागाउँ र अकलघरवा उपशाखा तथा पूर्वी मूल नहरका बाँकी संरचनाको निर्माणका लागि आवश्यक पूर्वतयारीका कामसमेत जारी रहेका छन् ।

बाँकेको राप्ती सोनारी गाउँपालिका–२ अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी जिल्लाको खेतीयोग्य जमिनमा वर्षभरि सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले आर्थिक वर्ष २०६२/६३ मा आयोजना सुरु गरिएको थियो । पछिल्लो संशोधित गुरुयोजनाअनुसार आयोजनालाई आर्थिक वर्ष २०८९/९० सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

निर्माणाधीन पश्चिमी मूल नहरमार्फत बाँकेको राप्ती नदी पश्चिम क्षेत्रका ३३ हजार ७६६ हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याइनेछ भने पूर्वी मूल नहरमार्फत राप्ती नदी पूर्वी क्षेत्रका करिब नौ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य रहेको आयोजना कार्यालयले जनाएको छ ।

संशोधित गुरुयोजनाअनुसार आयोजनाको कुल लागत रु ५२ अर्ब ८९ करोड अनुमान गरिएको छ । आयोजना सम्पन्न भएपछि बाँके जिल्लाको कृषि उत्पादन वृद्धि, खाद्य सुरक्षा तथा किसानको आयआर्जनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।