काठमाडौँ – पृथ्वीराजमार्ग अवरुद्ध भएपछि साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनाउन निजी ग्यास कम्पनीसँग सहकार्य गरी आफ्ना ‘एसटिसी सिलिन्डर’मा ग्यास भर्न सुरु गरेको छ।
गत आइतबार धादिङको कृष्णभीरमा त्रिशूली नदीले सडक कटान गरेपछि पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध भएको थियो। त्यसका कारण धादिङको जुगेखोलास्थित कर्पोरेशनको एलपीजी प्लान्टमा ग्यासका बुलेट पुग्न नसक्ने अवस्था आएपछि वैकल्पिक व्यवस्थामार्फत ग्यास आपूर्ति गर्न थालिएको हो।
कर्पोरेशनले सहज स्थानमा रहेका निजी ग्यास कम्पनीका प्लान्टसँग सहकार्य गरी आफ्ना खाली सिलिन्डरमा ग्यास भरेर वैकल्पिक मार्गबाट काठमाडौँ ल्याउने व्यवस्था मिलाएको जनाएको छ। मनोज ग्यास र बाबा ग्यासका प्लान्टमा आफ्ना सिलिन्डर बोटलिङ गरी उपत्यकामा ल्याउन थालिएको हो।
कर्पोरेशनका सहायक प्रमुख कार्यकारी अधिकृत बज्रेश झाले विपद्को अवस्थामा उपभोक्तालाई ग्यासको अभाव हुन नदिन वैकल्पिक व्यवस्था गरिएको जानकारी दिए । उनका अनुसार पहिलो चरणमा शुक्रबारसम्म ती दुई निजी प्लान्टमा भरिएका एसटिसी सिलिन्डर काठमाडौँ आइपुग्नेछन्।
कर्पोरेशनले आफ्नो ग्यास प्लान्टका लागि छुटेका केही ग्यासका बुलेटसमेत निजी कम्पनीका प्लान्टतर्फ ‘डाइभर्ट’ गरेको जनाएको छ।
सीमित कोटा, कुपनमार्फत चुस्त वितरण
नेपाल आयल निगमले कर्पोरेशनलाई सीमित मात्रामा ‘पिडिओ’ अनुमति दिँदा पर्याप्त ग्यास बिक्री गर्न कठिनाइ भइरहेको कर्पोरेशनको भनाइ छ।
निगमले भारतीय आयल कर्पोरेशनबाट कुल तीन हजार २५ ग्यास बुलेटका लागि सम्झौता गरेकोमा त्यसको करिब दुई प्रतिशत अर्थात् ५३ वटा बुलेट मात्र साल्ट ट्रेडिङको भागमा परेको जनाइएको छ। कर्पोरेशनले हाल मासिक करिब ५५ हजारदेखि ६० हजारसम्म एसटिसी सिलिन्डर खपत गर्दै आएको छ।
पछिल्लो समय निजी क्षेत्रका ग्यास कम्पनीले खाडी सङ्कट, पृथ्वीराजमार्ग अवरुद्धलगायत कारण देखाउँदा उपभोक्ता समस्यामा पर्दै आएका छन्। यस्तो अवस्थामा कर्पोरेशनले कुपन प्रणालीमार्फत ग्यास वितरणलाई व्यवस्थित बनाएको छ।
सहायक प्रमुख कार्यकारी अधिकृत झाले कुपन वितरण गर्दा नै उपभोक्ताले ग्यास प्राप्त गर्ने दिन सुनिश्चित गरिने बताए ।
छ महिनालाई पुग्ने नुन मौज्दात
कर्पोरेशनले आयोडिनयुक्त नुनको आपूर्ति सहज बनाउन करिब छ महिनालाई पुग्ने मौज्दात राखेको जनाएको छ।
सहायक प्रमुख कार्यकारी अधिकृत झाका अनुसार भदौ १७ गतेसम्म कर्पोरेशनका भण्डारणमा १ लाख २७ हजार ३६१ मेट्रिकटन आयोडिनयुक्त नुन मौज्दात रहेको छ। देशभर वार्षिक दुई लाख टनभन्दा बढी आयोडिनयुक्त नुनको माग हुने गरेको छ।
कर्पोरेशनले गत आर्थिक वर्षमा करिब २ लाख १० हजार टन नुन बिक्री वितरण गरेको जनाएको छ।
उपभोक्तावादीहरूले नुन अत्यावश्यक वस्तु भएकाले यसको आपूर्ति सरकारकै नीतिअन्तर्गत राखिनुपर्ने र बिक्री वितरणमा निजी क्षेत्रलाई प्रवेश गराउन नहुने धारणा राख्दै आएका छन्। विपद्का बेला निजी क्षेत्रबाट सहज आपूर्ति हुन नसक्ने भएकाले सार्वजनिक संस्थाको भूमिका अझ महत्वपूर्ण हुने उनीहरूको तर्क छ।
चिनीमा बजार हस्तक्षेप
अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्य बढिरहेका बेला साल्ट ट्रेडिङले चिनीको बिक्री वितरण बढाएर बजारमा हस्तक्षेप गरेको छ।
निजी क्षेत्रबाट प्रतिकिलो १३५ रुपैयाँसम्म बिक्री भइरहेको चिनी कर्पोरेशनले १०० रुपैयाँमा बिक्री गरिरहेको जनाएको छ। कर्पोरेशनका अनुसार भदौ ९ गते मात्रै ६०० टन चिनी आयात गरिएको थियो भने पछिल्ला दिनमा ३ हजार टन चिनी बजारमा पठाइसकिएको छ।
यसैगरी, बजारमा चामल, दाल, गेडागुडी, तेललगायत दैनिक उपभोग्य वस्तुको मूल्य बढिरहेको भए पनि कर्पोरेशनले आफूले बिक्री गर्दै आएका खाद्यान्नको मूल्य स्थिर राख्न सफल भएको जनाएको छ।
सहायक प्रमुख कार्यकारी अधिकृत झाले सरकारी–निजी स्वामित्वको कर्पोरेशनको उद्देश्य नाफा कमाउनु मात्र नभई असहज तथा विपद्को अवस्थामा नुनलगायत दैनिक अत्यावश्यक उपभोग्य वस्तुको आपूर्ति निरन्तर कायम गर्नु रहेको बताए ।



