काठमाडौं, – त्रिशूली नदीमा आएको भीषण बाढीले पृथ्वी राजमार्गको कृष्णभीर खण्ड कटान गरी सडक अवरुद्ध बनाएपछि काठमाडौं उपत्यकामा एलपी ग्यासको आपूर्ति प्रभावित हुन नदिन नेपाल आयल निगम र ग्यास उद्योगीले वैकल्पिक मार्गबाट आपूर्ति व्यवस्थापन थालेका छन्। सडक अवरुद्ध भए पनि निगमले शुक्रबार मात्रै काठमाडौं उपत्यकाका लागि विभिन्न ब्रान्डका करिब २४ हजार ५ सय एलपी ग्यास सिलिन्डर ल्याउने व्यवस्था मिलाएको छ।
भदौ १४ गते बिहान कृष्णभीर क्षेत्रमा आएको बाढीले पृथ्वी राजमार्गको सडक कटान गरेपछि ग्यास बुलेट तथा पेट्रोलियम पदार्थ बोकेका ट्यांकर काठमाडौं आउन नसक्ने अवस्था सिर्जना भएको थियो। त्यसपछि निगमले त्रिभुवन राजपथ (बाइरोड) प्रयोग गरी तराईका ग्यास उद्योगबाट सिलिन्डर रिफिल गरेर काठमाडौं ल्याउने वैकल्पिक व्यवस्था गरेको हो।
निगमका अनुसार काठमाडौं उपत्यकामा खपत हुने एलपी ग्यास मकवानपुर, पर्सा, बारा, चितवन, नवलपरासी र धनुषालगायतका क्षेत्रमा रहेका ग्यास उद्योगमा सिलिन्डर रिफिल गरी बाइरोड हुँदै काठमाडौं ल्याउने व्यवस्था मिलाइएको छ। शनिबारदेखि थप परिमाणमा ग्यास नियमित रूपमा काठमाडौं भित्र्याउने तयारीसमेत गरिएको निगमले जनाएको छ।
वैकल्पिक मार्ग प्रयोग गर्दा ढुवानी लागत बढेपछि नेपाल एलपी ग्यास उद्योग संघले अतिरिक्त ढुवानी भाडा कायम गरेको छ। संघका अनुसार हेटौँडास्थित सहरा ग्यास उद्योगबाट काठमाडौंसम्म वैकल्पिक मार्ग प्रयोग गरी ग्यास ल्याउँदा थप ढुवानी भाडा प्रतिसिलिन्डर ९३ रुपैयाँ २६ पैसा पर्ने र नियमअनुसार लाग्ने करसहित १०५ रुपैयाँ ३८ पैसा कायम हुन्छ।
संघको भदौ १८ गते सम्पन्न ३१औँ वार्षिक साधारणसभाले निगमले तोकेको प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमा उक्त अतिरिक्त ढुवानी भाडा जोडेर उपभोक्तालाई अधिकतम २ हजार १६५ रुपैयाँ ३८ पैसामा मात्र एलपी ग्यास बिक्री गर्न उद्योग तथा बिक्रेतालाई आग्रह गरेको छ।
संघले बाढीका कारण उत्पन्न विषम परिस्थितिको फाइदा उठाउँदै ग्यासको मूल्य नबढाउन र तोकिएको मूल्यभन्दा बढीमा बिक्री नगर्न उद्योगी तथा बिक्रेतालाई अनुरोध गरेको छ। साथै नयाँ सिलिन्डरको बजारीकरण नगर्न–नगराउनसमेत आग्रह गरेको छ।
उद्धारमा प्रयोग हुने हेलिकोप्टरका लागि इन्धन आपूर्ति
यसैबीच, नेपाल आयल निगमले बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार कार्यका लागि आवश्यक इन्धन आपूर्तिलाई पनि प्राथमिकतामा राखेको जनाएको छ।
निगमका अनुसार नेपाली सेनासँगको समन्वयमा नुवाकोटस्थित नेपाली सेनाको ब्यारेकबाट उद्धारमा परिचालित हेलिकोप्टरमा रिफ्युलिङ गर्ने व्यवस्था गरिएको छ। भदौ १० गतेदेखि हालसम्म हेलिकोप्टरमा रिफ्युलिङका लागि १ लाख २ हजार लिटर हवाई इन्धन पठाइसकिएको निगमले जनाएको छ। नुवाकोटबाट रिफ्युलिङ सेवा नियमित सञ्चालनमा रहेको छ।
उद्धार तथा राहत कार्यका लागि सवारीसाधनको आवतजावत बढेपछि प्रभावित क्षेत्रमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन निगमको थानकोटस्थित बागमती प्रादेशिक कार्यालयले सञ्चालनमा रहेका पेट्रोल पम्पलाई हालसम्म १ लाख ५ हजार लिटर पेट्रोल र २ लाख २ हजार लिटर डिजेल उपलब्ध गराएको जनाएको छ।
निगमले मागअनुसार सार्वजनिक बिदाका दिनमा समेत प्रभावित क्षेत्रमा पेट्रोल तथा डिजेल बिक्री वितरणको व्यवस्था मिलाएको जनाएको छ।
रसुवा र नुवाकोटमा ५०० ग्यास सिलिन्डर पठाइँदै
बाढी प्रभावित क्षेत्रमा उद्धारपछि सेल्टर तथा अस्थायी शिविरमा रहेका नागरिकका लागि खाना पकाउने ग्यासको व्यवस्था गर्नसमेत पहल गरिएको छ।
नेपाल एलपी ग्यास उद्योग संघबाट उपलब्ध गराइने १ हजार २५० थान एलपी ग्यास सिलिन्डरमध्ये ५०० थान रसुवा र नुवाकोटमा पठाउने व्यवस्था गरिएको निगमले जनाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुरोधमा ती सिलिन्डर प्रभावित क्षेत्रमा पठाउन लागिएको हो।
मुख्य राजमार्ग अवरुद्ध भएपछि काठमाडौंमा एलपी ग्यासको नियमित आपूर्तिमा चुनौती थपिए पनि निगमले वैकल्पिक मार्गबाट ग्यास भित्र्याउने र उद्योगीले थप ढुवानी लागत व्यवस्थापन गरी आपूर्ति निरन्तर राख्ने प्रयास गरिरहेका छन्। निगमले एकैदिन ठूलो परिमाणमा ग्यास काठमाडौं ल्याउने व्यवस्था मिलाएपछि तत्काल आपूर्ति संकट हुन नदिने प्रयास गरिएको छ।



