काठमाडौं – हालैको विनाशकारी बाढीका कारण काठमाडौँ उपत्यकामा देखिएको एलपी ग्यासको आपूर्ति समस्या समाधान गर्न सरकारले आपतकालीन व्यवस्था लागू गरेको छ।
बाढीका कारण ढुवानी तथा आपूर्ति प्रणाली प्रभावित भएपछि उपभोक्ताले ग्यास पाउन सास्ती व्यहोर्नुपरेको भन्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले नेपाल आयल निगम र ग्यास उद्योगीसँग छलफल गरी यस्तो व्यवस्था लागू गरेकी हुन्।
नयाँ व्यवस्थाअनुसार उपत्यकाका उपभोक्ताले आफूले प्रयोग गर्दै आएको कम्पनीको खाली सिलिन्डर दिएर बजारमा उपलब्ध अर्को कम्पनीको भरिएको सिलिन्डर तोकिएको मूल्यमा साट्न सक्नेछन्। आफ्नो नियमित ब्रान्ड बजारमा उपलब्ध नभएमा उपभोक्ताले अन्य ब्रान्डको सिलिन्डरमार्फत ग्यास खरिद गर्न पाउनेछन्।
बाढीका कारण ग्यासको आपूर्ति चक्र प्रभावित भएकाले उपभोक्तालाई तत्काल राहत दिन यस्तो अस्थायी व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्री यादवले निर्णय तत्काल र कडाइका साथ कार्यान्वयन गर्न नेपाल आयल निगम तथा सबै ग्यास उद्योगलाई निर्देशन दिएकी छन्।
संकटको मौका छोपेर कृत्रिम अभाव सिर्जना गर्ने, सिलिन्डर साट्न अस्वीकार गर्ने वा तोकिएको व्यवस्था पालना नगर्ने जोसुकैलाई पनि प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ।



