पाँच महिनामा काठमाडौँ महानगरको बजेट खर्च १८.४८ प्रतिशत मात्रै

काठमाडौं — चालू आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा काठमाडौँ महानगरपालिकाको बजेट खर्च न्यून देखिएको छ । महानगरले साउनदेखि पुस ९ गतेसम्म कुल विनियोजित बजेटको १८.४८ प्रतिशत मात्रै खर्च गरेको छ ।

काठमाडौँ महानगरपालिकाको नगर सभाको १८औँ अधिवेशनमा उपमेयर सुनिता डंगोलले प्रस्तुत गरेको विवरणअनुसार चालू आर्थिक वर्षमा संक्षिप्त कोषमा २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ जम्मा हुने अनुमान गरिएको छ । यसमध्ये आन्तरिक आय र बैंक मौज्दातबाट २० अर्ब १२ करोड ६४ लाख रुपैयाँ र बाँकी नेपाल सरकार तथा प्रदेश सरकारबाट सशर्त, समानीकरण र राजस्व बाँडफाँडमार्फत प्राप्त हुने अनुमान छ ।

पुस ९ गतेसम्म महानगरले समग्र आय–व्ययको अवस्थाअनुसार ४ अर्ब ६४ करोड ३४ लाख ७१ हजार रुपैयाँ खर्च गरेको छ । समग्र खर्चमध्ये चालू खर्च २८.४४ प्रतिशत र पुँजीगत खर्च १२.३९ प्रतिशत रहेको छ ।

क्षेत्रगत रूपमा हेर्दा पूर्वाधार विकासतर्फ १४.०१ प्रतिशत, आर्थिक विकासतर्फ १५.१५ प्रतिशत, सामाजिक विकासतर्फ १६.२२ प्रतिशत र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा १२.०६ प्रतिशत खर्च भएको उपमेयर डंगोलले जानकारी दिईन् । कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा भने सबैभन्दा बढी ४५.९९ प्रतिशत खर्च भएको देखिएको छ ।

विभागगत रूपमा प्रशासन विभागले कूल विनियोजित बजेटको ४६.५९ प्रतिशत खर्च गरेको छ । यसमध्ये चालूतर्फ ४८.१८ प्रतिशत र पुँजीगततर्फ १०.२३ प्रतिशत खर्च भएको छ । आन्तरिक लेखा परीक्षण एकाइले ३८.७२ प्रतिशत, हनुमानढोका दरबार क्षेत्र कार्यक्रममा २७.७३ प्रतिशत र अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयले २४.७९ प्रतिशत खर्च गरेको छ ।

वडागत रूपमा विनियोजित बजेट खर्चमा वडा नं. ७ अगाडि देखिएको छ । उक्त वडाले चालू शीर्षकमा २४.९२ प्रतिशत र पुँजीगततर्फ ३२.३३ प्रतिशत खर्च गरेको छ ।

महानगरले चालू आर्थिक वर्षका लागि संक्षिप्त कोषमा व्यय भार पर्ने २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ र अन्य व्यय भार ६५ करोड रुपैयाँ गरी कुल २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ ।