बिहीबारदेखि लामो र रातिकाे यात्रा नगर्न यातायात व्यवसायी महासंघको आग्रह

काठमाडौं – नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले बिहीबारदेखि असोज १२ गते सोमबारसम्म रातिको समयमा र अत्यावश्यकबाहेक लामो दूरीको यात्रा नगर्न यात्रुलाई आग्रह गरेको छ।

महासंघले विज्ञप्ति जारी गर्दै अविरल वर्षाका कारण सडकमा बाढी, पहिरो तथा अन्य विपद्को जोखिम बढ्न सक्ने भएकाले यात्रामा विशेष सावधानी अपनाउन आग्रह गरेको हो।

महासंघले यातायात सञ्चालन गर्नुअघि बाटोको अवस्था र मौसमबारे अनिवार्य जानकारी लिन आफ्ना सदस्य तथा यात्रुलाई अनुरोध गरेको छ। सडकको अवस्था प्रतिकूल देखिएमा यात्रा स्थगित गर्न तथा जोखिम मोलेर सवारी सञ्चालन नगर्न पनि महासंघले सुझाव दिएको छ।

वर्षाका कारण राजमार्ग तथा ग्रामीण सडकमा बाढी र पहिरो आउन सक्ने तथा कतिपय स्थानमा सडक अवरुद्ध हुनसक्ने भएकाले रातिको समयमा यात्रा गर्दा जोखिम थप बढ्न सक्ने महासंघको भनाइ छ।

यसअघि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै रातिको समयमा तथा लामो दूरीको यात्रा नगर्न सर्वसाधारण तथा सरोकारवालालाई अनुरोध गरेको थियो।