दार्चुलाकोे किसानको गुनासो,‘लटरम्म स्याउ फले, बिक्री हुँदैन ’

दार्चुला – अपी हिमाल गाउँपालिका–३ पाथा र कसौती गाउँमा यस वर्ष स्याउ लटरम्म फले पनि बजार र ढुवानीको समस्या हुँदा किसान चिन्तित बनेका छन् । गाउँका झण्डै ५० परिवारले व्यावसायिक तथा परम्परागत रूपमा स्याउखेती गर्दै आएका छन् ।

पाथा र कसौतीमा कलमी, गाला तथा इटालियन फुजी जातका उन्नत स्याउ प्रशस्त फलेका छन् । उत्पादन राम्रो भए पनि बजार अभाव र गाउँबाट बजारसम्म स्याउ ढुवानी गर्न कठिन हुँदा बिक्रीवितरण गर्न समस्या भएको हिमालयन कृषि फार्मका सञ्चालक कपुरसिँह धामीले बताए ।

धामीले ५०० भन्दा बढी स्याउका बोटबाट यस वर्ष १५ देखि २० क्विन्टल उत्पादन भएको बताए । उनका अनुसार गाउँमा सबै परिवारले स्याउखेती गरेका छन् । त्यसमध्ये १० देखि १२ परिवारसँग एक सयभन्दा बढी स्याउका बोट छन् ।

“गाउँमा सबै परिवारले स्याउखेती गरेका छन्, एक सयभन्दा बढी बोटबिरुवा हुने १०÷१२ परिवार छन्, अरूले त अलिअलि बिक्री गरे, आफन्तलाई दिए, आफ्नो त १० क्विन्टल जति स्याउ त्यत्तिकै छ,” धामीले भने ।

उनले गाउँमै प्रतिकिलो रु एक सयका दरले करिब एक क्विन्टल स्याउ बिक्री गरे पनि बाँकी स्याउ बजारसम्म पुर्‍याउन समस्या भएको बताए । “गाडीसम्म ढुवानी गर्दा एक दिन पूरै लाग्छ, त्यहाँ लगेर पनि बिक्री हुने नहुने ठेगान छैन,” उनले भने ।

अपी हिमाल–३ कै कसौती गाउँमा जनकसिँह कार्कीले पनि व्यावसायिक रूपमा स्याउखेती गर्नुभएको छ । पाथाभन्दा पनि टाढा रहेको कसौतीबाट उत्पादित स्याउ बजारसम्म पुर्‍याउन झन् कठिन हुने भन्दै किसानले चिन्ता व्यक्त गरेका छन् ।

यसैबीच, तीन वर्षअघि घरेलु तथा साना उद्योग विकास कार्यालयले पाथा गाउँमा निर्माण गरेको चिस्यान केन्द्रमा समेत किसानले उत्पादन गरेको स्याउ थन्किएको छ । अहिले कपुर धामीको करिब १० क्विन्टलसहित अन्य किसानको गरी १५ देखि २० क्विन्टल स्याउ चिस्यान केन्द्रमा राखिएको छ ।

तर विद्युत् आपूर्ति नियमित नहुँदा चिस्यान केन्द्रमा लामो समयसम्म स्याउ राख्नुपर्ने अवस्था आएमा उत्पादन बिग्रने चिन्ताले किसान थप समस्यामा परेका छन् । उत्पादन बढ्दै गए पनि बजार, ढुवानी र भण्डारणको उचित व्यवस्था नहुँदा अपी हिमालका किसानले स्याउखेतीबाट अपेक्षित लाभ लिन नसकेको अवस्था छ।