एक महिनामै सुनको भाउ ४३ हजार रुपैयाँले वृद्धि

काठमाडौं – शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७ हजार १ सय रुपैयाँ बढेर २ लाख ५८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको भाउ प्रतितोला २ लाख ५० हजार ९ सय रुपैयाँ तोकिएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विगत एक महिनामा नेपाली बजारमा सुनको भाउ प्रतितोला ४३ हजार रुपैयाँले वृद्धि भएको छ । भदौ ३० गते सुनको भाउ प्रतितोला २ लाख १५ हजार रुपैयाँ थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढिरहेसँगै नेपाली बजारमा पनि प्रभाव परेको छ । शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च रहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस ४,३७० अमेरिकी डलर हाराहारीमा पुगेको छ । एक औंस बराबर २.४३ तोला हुन्छ ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन प्रतितोला ३,२७५ रुपैयाँमा कारोबार भइरहेको चाँदी शुक्रबार ३,३५० रुपैयाँ पुगेको छ, जसमा प्रतितोला ७५ रुपैयाँ वृद्धि भएको हो।