काठमाडौं – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले बाढीपहिरोका कारण क्षतविक्षत भएका सडकहरू चाडपर्वको समयमा अस्थायी रूपमै भए पनि सञ्चालनयोग्य बनाउन सरकारसँग आग्रह गरेको छ।
सिंहदरबारमा सोमबार बसेको पूर्वाधार विकास समिति बैठकमा महासङ्घका अध्यक्ष सरोज सिटौलाले विगत दुई वर्षदेखि प्राकृतिक विपद्का कारण सडकको अवस्था प्रभावित हुँदै आएको र यसपटकको बाढीपहिरोले सडकहरू थप क्षतविक्षत बनाएको बताए ।
चाडपर्वका लागि आगामी १५ देखि २० दिनसम्म भए पनि सडकमा रहेका खाल्डाखुल्डी पुर्ने, अवरोध हटाउने तथा आवश्यक अस्थायी संरचना निर्माण गरी यातायात सञ्चालनयोग्य बनाउन सम्बद्ध सबै पक्ष मिलेर काम गर्नुपर्ने उनकाे भनाइ छ।
सिटौलाले अग्रिम टिकट बुकिङ खोल्नु मात्र ठूलो विषय नभएको भन्दै चाडपर्वका समयमा यात्रुलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउनु मुख्य चुनौती रहेको बताए। यात्रुको सुरक्षालाई ध्यानमा राख्दै नयाँ बसपार्क तथा सरकारले तोकेका आधिकारिक टिकट काउन्टरबाट मात्र परिचयपत्र र पोसाक लगाएका कर्मचारीमार्फत टिकट काट्ने व्यवस्था मिलाउनुपर्ने उनले बताए ।
उनले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढे पनि चाडपर्वको अवधिभर पेट्रोलियम पदार्थको मूल्य वृद्धि नगर्न सरकारसँग आग्रह गर्नुभयो। इन्धनको मूल्य नबढेमा यातायात व्यवसायीले भाडा नबढाउने स्पष्ट प्रतिबद्धता पनि उनले व्यक्त गरे ।
घटस्थापनादेखि टीकासम्म यात्रुको अत्यधिक चाप हुने भएकाले काठमाडौं उपत्यकामा सञ्चालनमा रहेका राम्रा तथा सुरक्षित सवारीसाधनलाई समेत बाहिरी जिल्लामा सञ्चालन गर्न अनुमति दिने व्यवस्था मिलाउनुपर्ने उनकाे माग छ।
त्यस्तै, चाडपर्वको मुख्य समयमा मालवाहक ठूला सवारीसाधनलाई नारायणगढलगायतका स्थानमा रोकेर यात्रुवाहक बसलाई आवागमनमा प्राथमिकता दिने विगतको अभ्यासलाई पुनः लागू गर्नुपर्ने सुझाव पनि सिटौलाले दिए ।
चाडपर्वका समयमा सडकको अवस्था, यात्रुको चाप र सवारीसाधनको व्यवस्थापनलाई एकीकृत रूपमा अघि बढाउनुपर्ने भन्दै उहाँले यात्रुको सुरक्षित आवागमनका लागि पूर्वाधार तथा यातायातसम्बद्ध निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए ।



