कोरलाका ४६ स्थानमा पहिरो, सडक पूर्ण रूपमा सञ्चालन हुन एक साता लाग्ने

काठमाडाैं – उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकखण्डका ४६ स्थानमा भारी वर्षापछि आएको बाढीपहिरो र नदी कटानले क्षति पुर्‍याएको छ। असोज ८ देखि ११ गतेसम्म परेको भारी वर्षा र हिमपातका कारण सडकका विभिन्न स्थानमा लेदो, ग्रेगानसहितको बाढीपहिरो र नदी कटान हुँदा सडक संरचनामा क्षति पुगेको हो।

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी अजिता शर्माको अध्यक्षतामा आज जिल्ला प्रशासन कार्यालयमा बसेको विपद् व्यवस्थापन समितिको बैठकमा कोरला सडक आयोजनाका प्रमुख तेजस्वी शर्माले सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउन एक साताभन्दा बढी समय लाग्ने जानकारी दिए ।

बैठकमा आयोजना प्रमुख शर्माले पर्वत–मालढुङ्गा खण्डका पाँच स्थान, बेनीदेखि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ रुप्सेसम्मका १६ स्थान तथा म्याग्दी–मुस्ताङ सीमा काभ्रेभिरदेखि जोमसोम हुँदै कोरला नाकासम्मका २५ स्थानमा बाढीपहिरो तथा नदी कटानले क्षति पुर्‍याएको जानकारी दिए ।

भारी वर्षापछि आएको बाढीपहिरोले पर्वत–मालढुङ्गा सडकखण्डअन्तर्गत लाटीखोला, फर्से, जुकेखोला, केराबारी र लामाखेतमा क्षति पुगेको छ।

त्यसैगरी बेनीदेखि अन्नपूर्ण गाउँपालिका–३ रुप्सेसम्मको सडकखण्डमा गलेश्वर, रघुगङ्गा पुल, बैसरी एक, बैसरी दुई, बैसरी तीन, बेगखोला, महभिर, भिरकाटे, पोखरेबगर, तातोपानी, नारच्याङ, जलथले, सुकेबगर, खामभित्ता, दाना, लाटो खोला र रुप्से खोलालगायत स्थानमा लेदोसहितको बाढीपहिरो र नदी कटानले सडक संरचनामा ठूलो क्षति पुगेको छ।

म्याग्दी–मुस्ताङ सीमा काभ्रेभिरदेखि कोरला नाकासम्मको सडकखण्डमा पनि विभिन्न स्थानमा आंशिक तथा मध्यम क्षति पुगेको आयोजनाले जनाएको छ। काभ्रेभिरबाट मुस्ताङतर्फ खहरे खोला, घाँसा, कैकु खोला, लेते खोला, मार्फा, पान्डा खोला, एक्लेभट्टी, कागबेनी, तिरीबारी, ग्रीन ताङ्वे, ताङ्वे खोला एक, ताङ्वे खोला दुई र छुसाङ खोलामा सडकमा क्षति पुगेको छ।

बाढीपहिरोले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ का घ्याकर खोला, चैले, समर खोला, झो खोला, स्याङवचे, घमी, चराङ, छोसेर तथा नेपाल–चीन सीमाना नजिकै लोमान्थाङ गाउँपालिका–४ न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालय आसपासको सडकमा समेत क्षति पुर्‍याएको छ।

आयोजना प्रमुख शर्माका अनुसार म्याग्दी खण्डमा केही स्थानमा सडक संरचना पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। तातोपानी–पोखरेबगर जोड्ने कालीगण्डकी नदीमाथि निर्मित पक्की पुलको पहुँचमार्गसमेत बाढीले क्षति पुर्‍याएको छ।

पर्याप्त जनशक्ति र उपकरणको व्यवस्थापन गर्न सकिएमा सडकलाई एक साताभित्रै पूर्ण रूपमा सञ्चालनमा ल्याउन सकिने अवस्था रहेको आयोजना प्रमुख शर्माले बैठकमा जानकारी दिनुभयो। तर सडकको समग्र अवस्था हेर्दा पूर्ण रूपमा सञ्चालनमा आउन एक साताभन्दा बढी समय लाग्न सक्ने उनकाे भनाइ छ।

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी अजिता शर्माले वर्षाका कारण अवरुद्ध कोरला सडकलाई यथाशीघ्र सञ्चालनमा ल्याउन सबै निकायसँग समन्वय र सहजीकरण भइरहेको बताए ।

सडक अवरुद्ध भएपछि विभिन्न समस्या देखिन थालेको उल्लेख गर्दै उनले धार्मिक पर्यटकको आवागमनसमेत प्रभावित भएकाले सडक सञ्चालनलाई उच्च प्राथमिकतामा राखेर काम गर्न सम्बन्धित निकायलाई अनुरोध गरिएको जानकारी दिए ।