काठमाडौं — सरकारले नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले विशालकुमार भण्डारीको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार बैठकले रेडक्रसको संस्थागत व्यवस्थापनलाई अस्थायी रूपमा सञ्चालन गर्न तदर्थ समिति गठन गर्ने निर्णय गरेको हो ।
यसै बैठकले चार जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ । स्वीकृति प्राप्त आयोजनामा तल्लो अरुण, तल्लो न्यादी खोला, भुन्छा खोला र तादी खोला जलविद्युत् आयोजना रहेका छन् ।
त्यस्तै मन्त्रिपरिषद्ले निजामती सेवा (सोह्रौँ संशोधन) नियमावली, २०८१ लाई स्वीकृति प्रदान गरेको छ।
बैठकले सुदन गुरुङ सम्बन्धमा गठित अध्ययन तथा छानबिन समितिले पेस गरेको प्रतिवेदनलाई पनि ग्रहण गर्ने निर्णय गरेको छ। सरकारका अनुसार उक्त प्रतिवेदन अध्ययन गरी आवश्यक निर्णय पछि लिइनेछ।



