काठमाडौँ — काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले कार्यबाहक नगर प्रमुखको जिम्मेवारी पाएकी छन् । नगर प्रमुख बालेन्द्र शाह (बालेन) ले पदबाट राजीनामा दिएलगत्तै उनी स्वतः कार्यबाहक प्रमुख बनेकी हुन् ।
स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार नगर प्रमुखको पद रिक्त भएमा उपमेयरले स्वतः कार्यबाहक प्रमुखको जिम्मेवारी पाउने व्यवस्था छ । सोही कानुनी प्रावधानअनुसार उपमेयर डंगोलले महानगरपालिकाको नेतृत्व सम्हालेकी हुन् ।
यसअघि नगर प्रमुख शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय पुग्नुअघि पदबाट राजीनामा दिएका थिए । उनी केहीबेरमा रास्वपा केन्द्रीय कार्यालय पुग्ने कार्यक्रम रहेको छ । रास्वपा कार्यालयमा कार्यकर्ता तथा शुभेच्छुकहरूको बाक्लो उपस्थिति देखिएको छ।
राजीनामापछि बालेन्द्र शाह रास्वपामा प्रवेश गरी झापा–५ बाट निर्वाचन लड्ने तयारीमा रहेको चर्चा छ। हाल उनी रास्वपाका वरिष्ठ नेताका रूपमा सक्रिय रहेको जनाइएको छ ।



