प्रधानमन्त्री शाहले उपकुलपतिसँग आज छलफल गर्दै

काठमाडौँ — वालेन्द्र शाह ले आज देशभरका विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग महत्वपूर्ण छलफल गर्ने भएका छन् । बैठक दिउँसो १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मा बस्नेछ ।

प्रधानमन्त्री कुलपति रहने ११ विश्वविद्यालय र सात प्रतिष्ठानका उपकुलपतिलाई छलफलका लागि बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा विश्वविद्यालय र प्रतिष्ठानका समसामयिक समस्या, चुनौती र समाधानका उपायबारे विस्तृत विमर्श हुने बताइएको छ ।

छलफलमा त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालय का उपकुलपति सहभागी हुनेछन् ।

त्यसैगरी नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय, कृषि तथा वनविज्ञान विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय तथा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय का उपकुलपतिहरू पनि उपस्थित रहनेछन् ।

यसैगरी, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान का उपकुलपतिसँग पनि प्रधानमन्त्रीले संवाद गर्नेछन् ।

बैठकमा तत्काल समाधान गर्न सकिने समस्या पहिचान गर्दै दीर्घकालीन सुधारका उपायहरूमा समेत सहमति खोजिने अपेक्षा गरिएको छ ।