मालढुङ्गा सडक अवरुद्ध हुँदा बागलुङको दसैँ सुनसान, पर्यटनदेखि व्यापारसम्म मारमा

बागलुङ – दसैँको चहलपहलसँगै पर्यटकले भरिभराउ हुनुपर्ने बागलुङका होटल यस वर्ष सुनसान छन् । बजारमा व्यापारिक गतिविधि सुस्ताएको छ भने व्यवसायीको आम्दानीमा समेत गिरावट आएको छ । बागलुङ प्रवेश गर्ने मुख्य सडकको मालढुङ्गा पुलको पहुँचमार्ग बाढीले बगाएपछि पर्यटन, व्यापार र सर्वसाधारणको दैनिक जीवन प्रभावित बनेको हो ।

विगतका वर्षमा दसैँ तथा अन्य चाडपर्वका समयमा कालिका मन्दिर, पञ्चकोट र ढोरपाटनलगायत पर्यटकीय गन्तव्यमा घुम्न आउने पर्यटकका कारण बागलुङका होटल तथा बजारमा चहलपहल बढ्ने गरेको थियो । पर्यटकको आवागमनले होटल, रेस्टुरेन्ट, यातायात र अन्य व्यवसायमा आर्थिक गतिविधि बढ्नुका साथै रोजगारीका अवसरसमेत विस्तार हुने गरेका थिए । यस वर्ष पनि त्यस्तै चहलपहलको अपेक्षा गरेका व्यवसायी भने मुख्य सडक अवरुद्ध भएपछि निराश बनेका छन् ।

गत असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले पर्वततर्फको मालढुङ्गा पुलको पहुँचमार्ग बगाएपछि बागलुङ र पर्वतबीचको नियमित सडक सम्पर्क विच्छेद भएको हो । त्यसयता १२ दिनदेखि मुख्य मार्गबाट सिधा यातायात सञ्चालन हुन सकेको छैन । मालढुङ्गा हुँदै म्याग्दी र मुस्ताङ जाने सडक अवरुद्ध हुँदा बागलुङको पर्यटन व्यवसायले समेत प्रत्यक्ष असर बेहोर्नुपरेको छ ।

बागलुङ पर्यटकीय गन्तव्यतर्फ जाने यात्रुका लागि प्रवेशद्वारका रूपमा रहेको छ । विशेषगरी मुस्ताङ जाने पर्यटकको आवागमनले यहाँका होटल व्यवसायलाई चलायमान बनाउँदै आएको थियो । तर, यस वर्ष दसैँको मुखमा नै मुख्य सडक अवरुद्ध भएपछि होटल व्यवसायीले अपेक्षित ग्राहक पाउन सकेका छैनन् ।

होटल व्यवसायी एन्जील शाक्यका अनुसार दसैँको समयमा पर्यटकको चाप बढ्नुपर्ने भए पनि अहिले होटलमा चहलपहल निकै कम छ । “मुख्य सडक नै छैन, पर्यटक कसरी आउँछन् ? मुस्ताङसँग सडक सम्पर्क नै विच्छेद भएको छ । मुस्ताङको प्रभावले बागलुङको होटल व्यवसाय चलायमान हुन्थ्यो,” उनले भने।

पुलको पहुँचमार्ग सञ्चालनमा आउन जति ढिलाइ हुन्छ, होटल व्यवसायीको नोक्सानी पनि त्यति नै बढ्ने उनकाे भनाइ छ । वैकल्पिक मार्ग प्रयोग गरेर आउने पर्यटकको सङ्ख्या कम रहेको उल्लेख गर्दै उहाँले मालढुङ्गा पुल र मुस्ताङ जाने सडक नखुल्दासम्म होटल व्यवसायमा ठूलो क्षति पुग्ने बताए ।

मालढुङ्गा भारत र चीनलाई जोड्ने कालीगण्डकी करिडोर तथा पहाडी क्षेत्र हुँदै गएको मध्यपहाडी लोकमार्गको महत्त्वपूर्ण सङ्गमस्थल हो । यहाँको सडक अवरुद्ध हुँदा बागलुङ मात्र नभई पश्चिम क्षेत्रको आवागमनमा समेत असर परेको छ । मध्यपहाडी लोकमार्ग हुँदै पूर्वी रुकुम र रोल्पातर्फ जाने यातायातसमेत प्रभावित भएको छ ।

वैकल्पिक बाटोले ढुवानी महँगियो

मुख्य सडक अवरुद्ध भएपछि अहिले फलेवास–बलेवा हुँदै बागलुङ तथा मालढुङ्गा–बेनी हुँदै बागलुङसम्म वैकल्पिक मार्गबाट यात्रुवाहक बस र साना मालवाहक सवारी सञ्चालन भइरहेका छन् । तर, लामो र घुमाउरो बाटो प्रयोग गर्नुपर्दा ढुवानीमा समय र खर्च दुवै बढेको छ । यसको असर बजारमा दैनिक उपभोग्य वस्तुको मूल्यमा समेत देखिन थालेको छ ।

ग्यास विक्रेता हरि आचार्यका अनुसार वैकल्पिक मार्गबाट ग्यास ढुवानी गर्दा प्रतिसिलिन्डर १५० देखि १७० रुपैयाँसम्म अतिरिक्त खर्च लाग्न थालेको छ । ढुवानी खर्च बढेपछि बजारमा ग्यासको मूल्यसमेत १०० रुपैयाँले बढाउनुपरेको उनले बताए ।

सडक अवरुद्ध हुँदा तरकारीलगायत खाद्यवस्तुको आपूर्तिमा पनि समस्या देखिन थालेको छ । पेट्रोलियम पदार्थ, खाद्यान्न, लत्ताकपडा र अन्य उपभोग्य वस्तुको आपूर्ति नियमित हुन नसक्दा व्यवसायी र उपभोक्ता दुवै प्रभावित भएका छन् । ढुवानीमा लाग्ने अतिरिक्त समय र खर्चले बजारमा वस्तुको उपलब्धता तथा मूल्यमा थप दबाब सिर्जना गरेको छ ।

बिरामीलाई पोखरा पुग्न पनि सास्ती

सडक सम्पर्क विच्छेदको असर व्यापार र पर्यटनमा मात्र सीमित छैन । सर्वसाधारणको दैनिक जीवन र स्वास्थ्य सेवासमेत प्रभावित भएको छ । गम्भीर बिरामी तथा नियमित उपचारका लागि पोखरा जानुपर्ने व्यक्तिले लामो वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने वा केही दूरी पैदल हिँड्नुपर्ने अवस्था आएको छ ।

मुख्य सडक अवरुद्ध हुँदा सहज आवागमनमा समस्या हुनुका साथै अत्यावश्यक सेवा लिनुपर्ने सर्वसाधारणले समेत अतिरिक्त समय र खर्च व्यहोर्नुपरेको छ । चाडपर्वको समयमा खाद्यान्न तथा अन्य आवश्यक वस्तुको आपूर्ति र स्वास्थ्य सेवामा देखिएको कठिनाइले स्थानीयवासीको दैनिकी थप कष्टकर बनेको छ ।

दसैँअघि नै सडक सञ्चालन गर्ने तयारी

सडक अवरुद्ध हुँदा अत्यावश्यक वस्तुको आपूर्तिदेखि पर्यटन र व्यापारसम्म प्रभावित भएपछि सडक डिभिजन कार्यालय पोखराले दसैँअघि नै मालढुङ्गा पुलको पहुँचमार्ग सञ्चालनमा ल्याउने गरी मर्मत तथा पुनःस्थापनाको काम तीव्र पारेको छ ।

बाढीले पुलको पहुँचमार्गमा करिब ३० मिटर सडक क्षति पुर्‍याएको छ । सडक डिभिजन कार्यालय पोखराका प्रमुख कृष्णराज अधिकारीले चाडपर्व नजिकिँदै गएको र बागलुङमा खाद्यान्न, ग्यासलगायत अत्यावश्यक वस्तुको आपूर्तिमा असर पर्न थालेकाले चौबीसै घण्टा काम गरेर सडक सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए ।

कुल ११४ मिटर लामो मालढुङ्गा पुलको पहुँचमार्गमा क्षति पुगेपछि दुई जिल्लाबीचको नियमित सडक सम्पर्क विच्छेद भएको हो । यो मार्ग सञ्चालनमा नआउँदासम्म बागलुङको पर्यटन, व्यापार र यातायात क्षेत्रमा परेको असर पूर्ण रूपमा हट्न कठिन देखिन्छ ।

पुलको पहुँचमार्ग पुनःस्थापना गरी यातायात सञ्चालनमा आएपछि लामो समयदेखि प्रभावित व्यापारिक गतिविधि, पर्यटकको आवागमन तथा दैनिक उपभोग्य वस्तुको आपूर्ति क्रमशः सहज हुने अपेक्षा गरिएको छ । दसैँअघि नै सडक सञ्चालनमा ल्याउने तयारीले व्यवसायीमा केही आशा जगाए पनि सडक खुल्न ढिलाइ भएमा चाडपर्वको मुख्य व्यापारिक अवसर गुम्ने चिन्ता भने कायमै छ ।