काठमाडौं – रसुवालगायत बाढी प्रभावित क्षेत्रका नागरिकका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै नेपाल सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमार्फत बाढी प्रभावितका लागि आर्थिक सहयोग जुटाइरहेको जानकारी दिए ।
प्रधानमन्त्री शाहका अनुसार बुधबारसम्म राहत कोषमा रु ७ अर्ब ८८ लाख ५७ हजार २१७ जम्मा भएको छ । त्यसैगरी थप ६१ लाख ४१ हजार ७०२ अमेरिकी डलर समेत कोषमा जम्मा भएको उनले जानकारी दिए ।
उनका अनुसार मंगलबार मात्रै उक्त कोषबाट राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए) लाई रु १ अर्ब निकासा गरिएको थियो ।
निकासा गरिएको रकममध्ये रु ६ करोड ७५ लाख रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका बाढी प्रभावित १५ वटा स्थानीय तहमा पठाइसकिएको प्रधानमन्त्री शाहले बताए ।
उनका अनुसार हाल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ६ अर्ब ८८ लाख ५७ हजार २१७ मौज्दात रहेको छ । साथै, अमेरिकी डलरमा जम्मा भएको रकम पनि कोषमा रहेको छ ।
प्रधानमन्त्री शाहले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि सरकार निरन्तर परिचालित भइरहेको बताए ।



