भूमिगत विद्युत् सञ्जाल सञ्चालनमा ल्याउँदै प्राधिकरण, उपत्यकाका विभिन्न क्षेत्रमा लाइन काटिने

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकामा निर्माण गरिएको भूमिगत विद्युत् वितरण प्रणाली सञ्चालनमा ल्याउने भएको छ । आगामी हिउँदमा विद्युत् आपूर्ति व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले बिहीबारदेखि विभिन्न क्षेत्रमा केही घण्टा विद्युत् आपूर्ति बन्द गरेर भूमिगत सञ्जालमा विद्युत् प्रवाह सुरु गर्न लागिएको हो ।

प्राधिकरणले कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतका विभिन्न क्षेत्रमा भूमिगत वितरण प्रणाली सञ्चालनमा ल्याउन लागेको जनाएको छ । त्यसका लागि असोज १५ देखि २६ गतेसम्म तोकिएका स्थानमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द गरिनेछ ।

प्राधिकरणका अनुसार असोज १५ गते सतुङ्गल–बौथली, १६ गते मच्छेगाउँ दोभान चोक तथा खुसीचोक, १७ गते मूलपानी र १८ गते गर्जुधारा क्षेत्रमा विद्युत् आपूर्ति रोकिनेछ । असोज २० गते पुनः मूलपानी क्षेत्रमा लाइन काटेर भूमिगत विद्युत् प्रणालीसम्बन्धी काम गरिनेछ ।

त्यसपछि असोज २१ गते बलम्बु, २२ गते कोटेश्वर–बालकुमारी, २४ गते सिफल, २५ गते सतुङ्गल–धवलागिरी आवास क्षेत्र र २६ गते धोबीखोला क्षेत्रमा विद्युत् आपूर्ति बन्द गरिने प्राधिकरणले जनाएको छ ।

मौसम प्रतिकूल भएमा भने पूर्वनिर्धारित तालिकाअनुसार विद्युत् आपूर्ति कटौती नगरिने प्राधिकरणको भनाइ छ ।

उपत्यकाको विद्युत् वितरण प्रणालीलाई भूमिगत, सुदृढ र स्वचालित बनाउने योजनाअन्तर्गत प्राधिकरणले चरणबद्ध रूपमा काम अघि बढाइरहेको छ । पहिलो चरणमा रत्नपार्क र महाराजगन्ज वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा भूमिगत वितरण प्रणाली निर्माण गरिएको थियो ।

त्यसपछि दोस्रो चरणमा काठमाडौंका बाँकी सहरी क्षेत्र, तेस्रो चरणमा ललितपुर र भक्तपुरका सहरी क्षेत्र तथा चौथो चरणमा पोखरा र भरतपुर महानगरपालिकाका सहरी क्षेत्रमा वितरण प्रणालीलाई भूमिगत, सुदृढ र स्वचालित बनाउने काम अघि बढाइएको प्राधिकरणले जनाएको छ ।

कार्यक्रमअन्तर्गत ३३ केभी, ११ केभी तथा ४०० भोल्टका विद्युत् लाइन भूमिगत गरिनुका साथै अप्टिकल फाइबरसमेत बिछ्याइएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले भूमिगत प्रणाली सञ्चालनमा आएपछि विद्युत् आपूर्ति प्रणालीको विश्वसनीयता र सुरक्षा बढ्ने बताए ।

“भूमिगत प्रणाली सञ्चालनमा आएपछि विद्युत् आपूर्ति प्रणालीको विश्वसनीयता र सुरक्षा अभिवृद्धि हुने हाम्रो अपेक्षा छ,” उनले भने, “वितरण प्रणाली क्रमशः स्वचालित हुने र सहरी सौन्दर्य विस्तारमा पनि यसले ठूलो सहयोग पुर्‍याउनेछ ।”

सडक तथा सहरी क्षेत्रमा विद्युत्, टेलिफोन र इन्टरनेट सेवाप्रदायकका तार जथाभावी तथा गुजुल्टिएर रहँदा हुने आगलागी तथा अन्य जोखिम न्यूनीकरणमा समेत भूमिगत विद्युत् वितरण प्रणालीले सहयोग पुग्ने प्राधिकरणले जनाएको छ ।