काठमाडौं सरसफाई गर्दै महानगर

काठमाडौं, माघ ११ गते । काठमाडौं महानगरपालिकाले सहरी स्वच्छताका लागि सरसफाइका विशेष कार्यक्रम सञ्चालन गरिरहेको छ ।

महानगर प्रहरी बलको सहयोगमा वातावरण व्यवस्थापन विभागले सरसफाइका लागि जनशक्ति, साधन तथा उपकरण प्रयोग गर्ने गरेको छ। ब्रुमरले सडकको माटो संकलन गर्ने, जेट मेसिनले सडक पखाल्ने गरिन्छ। यससँगै स्वर्णिम योजनाअन्तर्गत नदी सफाइ र डुबान समाधान योजना सञ्चालनमा छन्।

स्वयम्भू क्षेत्रको विशेष सफाइ

महानगरले स्वयम्भू परिक्रमा मार्ग, सिढीँ, जङ्गल र स्तूप क्षेत्रको सरसफाइबाट ६१ मेट्रिक टन फोहोर संकलन गरेको छ । यहाँ मंसिर २१ गतेदेखि सफाइ थालिएको थियो। यसका लागि दैनिक १ सय जना जनशक्ति खटाइएको छ।

मंगाल र सडक किनाराबाट माटो

सतहको पानी निकासका लागि सडक किनारामा बनाइएका ढल, मंगाल र नाली सफा गर्दा १ हजार ६४ मेट्रिक टन माटो निकालिएको छ।

चालु आर्थिक वर्षबाट कार्यान्वयनमा आएको महानगर स्वर्णिम योजना अन्तर्गत ‘डुबान समस्या समाधान’ कार्यक्रम कार्यान्वयन गर्दै विपद् व्यवस्थापन विभागले भदौ १० गतेदेखि दैनिक ७ जना जनशक्ति परिचालन गरेर ढल, साइड ड्रेन, नाला सफाइ गरिरहेको हो। यस क्रममा पुस मसान्तभित्र ७४४ जना जनशक्ति परिचालन भइसकेका छन्।

विपद् व्यवस्थापन महाशाखाका प्रमुख एवं डुबान समस्या समाधान कार्यक्रमका फोकल पर्सन विष्णुप्रसाद जोशीका अनुसार, यस अवधिमा १ हजार ७ सय भन्दा धेरै मंगाल खोलेर सफाइ गरिएको छ। यीमध्ये करिब ५ सय मंगाल निर्माण भएपछि एक पटक पनि खोलिएका थिएनन्।

महानगरका अनुसार अहिलेसम्ममा वडा ३२ को पेप्सीकोला आवास क्षेत्र र जडीबुटी, वडा नं ३१ को मीनभवन पुलदेखि कोटेश्वर, कोटेश्वरदेखि बालकुमारी, बालकुमारीदेखि मनोहरा करिडोरको झोलुङ्गे पुलसम्म सफाइ गरिसकिएको छ।

यसै गरी वडा नं ३ को कान्ति बाल अस्पताल आसपास, वडा नं ११ को ट्रली बस स्टप लाइन (त्रिपरेश्वर), वडा नं २८ र ११ जोडिएको भृकुटीमण्डप, वडा नं १ दरबार मार्ग सफाइ गरिसकिएको छ।

वडा नं १४ को कुलेश्वर बल्खु क्षेत्र, वडा नं १३ को सोल्टीमोडदेखि कालीमाटी पुलसम्म सफाइ भइसकेको छ। वडा नं. १४ को कलंकी चोकदेखि नयाँ बसपार्कतर्फको सडक खण्डमा काम भएको महानगरले जनाएको छ।