काठमाडौं – नजिकिँदै गरेको दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ असोज २३ गतेदेखि खुला हुने भएको छ। यातायात व्यवस्था विभागमा मंगलबार भएको सरोकारवाला निकायबीचको उच्चस्तरीय बैठकले चाडपर्वका लागि अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको हो।
काठमाडौं उपत्यकाबाट चाडपर्वमा बाहिरिने यात्रुको सहजताका लागि विभागको आयोजनामा यातायात व्यवसायी राष्ट्रिय महासंघ, यातायात श्रमिक संगठन, नेपाल प्रहरी, ट्राफिक प्रहरी तथा नयाँ बसपार्क व्यवस्थापक ल्होत्से बहुउद्देश्यीय प्रालिका प्रतिनिधिबीच भएको छलफलपछि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने सहमति भएको अखिल नेपाल यातायात मजदुर संगठनका अध्यक्ष दिपक केसीले जानकारी दिए ।
यस वर्षको दसैँ अवधिमा १० लाखभन्दा बढी यात्रुले काठमाडौं उपत्यका छाड्ने आकलन गरिएको छ। अग्रिम टिकट बुकिङ नखुल्दा तथा केही यातायात कम्पनीले मात्र अनलाइनमार्फत टिकट बुकिङ गरिरहेका कारण यात्रुमा देखिएको अन्योल अब हट्ने अपेक्षा गरिएको छ।
चाडपर्वमा यात्रुको सुरक्षा र यातायात व्यवस्थापनलाई व्यवस्थित बनाउन बैठकले विभिन्न निर्णयसमेत गरेको छ। निर्णयअनुसार लामो दूरीका सार्वजनिक सवारीसाधनमा अनिवार्य रूपमा दुई जना चालक राख्नुपर्नेछ।
त्यस्तै, टिकट काउन्टरमा खटिने कर्मचारीले अनिवार्य रूपमा परिचयपत्र र पोसाक लगाउनुपर्नेछ। टिकट काट्दा यात्रुको नाम र सम्पर्क नम्बरसमेत अनिवार्य रूपमा अभिलेख राख्नुपर्ने व्यवस्था गरिएको छ।
चाडपर्वको मौका छोपेर तोकिएको भन्दा बढी भाडा असुल गर्ने, कालोबजारी गर्ने वा टिकट बिक्रीमा अनियमितता गर्ने जोसुकैलाई कडा कानुनी कारबाही गरिने विभागले जनाएको छ। टिकट बिक्री प्रणालीलाई पारदर्शी बनाउन सरकार, यातायात व्यवसायी र सुरक्षा निकायबीच प्रभावकारी समन्वय गर्ने निर्णयसमेत भएको छ।
यात्राको क्रममा राजमार्गमा हुने अवरोध वा दुर्घटनाबारे तत्काल सूचना आदानप्रदान गर्न केन्द्रीय सूचना केन्द्र सञ्चालनमा ल्याउने निर्णय भएको अध्यक्ष केसीले बताए ।
त्यसैगरी, सम्पूर्ण यात्रुवाहक सवारीसाधनमा प्राथमिक उपचार सामग्री, आगो नियन्त्रण गर्ने उपकरण र पिउने पानीलगायतका अत्यावश्यक सुविधा अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने निर्णय गरिएको छ।
दसैँ–तिहारका बेला बसपार्क तथा टिकट काउन्टरमा यात्रुको अत्यधिक चाप हुने भएकाले त्यसलाई व्यवस्थित गर्न सुरक्षा निकायको प्रभावकारी परिचालनमा समेत बैठकले जोड दिएको छ। टिकट नपाएर यात्रुले सास्ती भोग्नुपर्ने अवस्था अन्त्य गर्न आवश्यक व्यवस्थापन मिलाउने विषयमा पनि सरोकारवाला निकायबीच सहमति भएको छ।
चाडपर्वका समयमा यात्रुको चाप व्यवस्थापन, टिकटमा हुने अनियमितता नियन्त्रण र यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै दसैँ–तिहारको यातायातलाई सुरक्षित तथा व्यवस्थित बनाउने प्रतिबद्धता बैठकमा सहभागी सबै पक्षले जनाएका छन्।



