पोखरा, – बाढीपहिरोका कारण लामो समयदेखि अवरुद्ध बनेको बिरेठाँटी–घान्द्रुक सडक सञ्चालनमा आएपछि कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा पर्यटकको चहलपहल बढ्न थालेको छ। अन्नपूर्ण गाउँपालिका–१० र ११ मा पर्ने घान्द्रुकमा सडक सहज भएसँगै पर्यटक आउन थालेका हुन्।
बाटो खुलेपछि घान्द्रुकको पर्यटन व्यवसायमा समेत विस्तारै आशा जाग्न थालेको व्यवसायीहरूले बताएका छन्। घान्द्रुकस्थित निर्मल भिल्लाकी प्रबन्ध निर्देशक स्नेहा गुरुङका अनुसार बाढीपहिरोका कारण बाटो अवरुद्ध हुँदा असार, साउन र भदौमा पर्यटक आगमन लगभग शून्य अवस्थामा पुगेको थियो। अहिले चाडपर्वसँगै पर्यटकीय याम सुरु भएकाले पर्यटक आउन थालेपछि व्यवसाय चलायमान हुने आशा बढेको उनले बताए ।
“चाडपर्वसँगै पर्यटकको सिजन पनि सुरु भयो। बाटो पनि सहज भएको छ,” उनले भने, “असार, साउन र भदौमा पर्यटक शून्य नै थियो। अहिले विस्तारै आउन सुरु गर्नुभएको छ। अब केही हुन्छ कि भन्ने आशा पलाएको छ।”
होटल रक एण्ड मुडका सञ्चालक तथा रोधी क्लब घान्द्रुकका अध्यक्ष लक्षिण गुरुङले भने घान्द्रुक जाने बाटो सहज भएको सन्देश देशभर पुर्याउन आवश्यक रहेको बताए । सडक खुलेको जानकारी नहुँदा अझै पनि धेरै पर्यटकले बाटो खराब रहेको ठानेर भ्रमण योजना रद्द गरेको हुनसक्ने उनकाे भनाइ छ।
“पर्यटक आउन सुरु गर्नुभएको छ तर अझै पनि धेरैलाई बाटो खराब छ भन्ने लागेको हुनसक्छ,”उनले भने, “अब हामीले बाटो सहज छ, ढुक्कसँग घुम्न आउनुहोला भन्ने सन्देश प्रवाह गर्नुपर्नेछ।”
निरन्तरको वर्षाका कारण विभिन्न स्थानमा खसेका पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइए पनि पर्यटक आगमन भने अपेक्षाअनुसार हुन नसकेको उनले बताए। अघिल्ला वर्षमा यही समयमा होटलमा पाहुना भरिभराउ हुने गरेकोमा अहिले दैनिक पाँचदेखि सात जनासम्म मात्रै आउने गरेको उनले जानकारी दिए ।
“साउन–भदौमा जस्तो पाहुना आउँदै नआएको त होइन, तर अझै पर्याप्त छैन,” उनले भने, “मेरो होटलमा ४५ जनासम्म राख्न सक्छु। यो समयमा अघिल्ला वर्षमा भरिभराउ हुन्थ्यो, तर यो पटक दैनिक पाँच–सात जना मात्र आएका छन् ।
घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङका अनुसार बाटोसँगै मौसमसमेत खुलेपछि गाउँको पर्यटन व्यवसाय विस्तारै चलायमान हुँदै गएको छ। अहिले दैनिक दुईदेखि तीन सय पर्यटक घान्द्रुक पुग्न थालेका छन्।
“यो बेला पर्यटक आउने समय नै हो। यही समयमा बाटो बिग्रँदा निकै चिन्ता लागेको थियो। सबैको पहलमा बाटो बनाएपछि पाहुना आउन थाल्नुभएको छ,” उनले भने, “पहिला–पहिला यही समयमा बस्ने ठाउँ नपुगेर पाहुना फर्काउनुपर्ने अवस्था थियो। यो वर्ष विस्तारै बढ्ने क्रम जारी छ। अहिले दैनिक दुई–तीन सय जना आउनुहुन्छ।”
अध्यक्ष गुरुङले घान्द्रुकको बाटो सहज भएको जानकारी सम्भावित पर्यटकसम्म पुर्याउन आवश्यक रहेको बताए। निरन्तर वर्षाका कारण सडक अवरुद्ध भएको जानकारी पाए पनि सडक खुलेकोबारे धेरैलाई जानकारी नहुन सक्ने उनकाे भनाइ छ।
“यो समय सबैभन्दा बढी नेपाली पाहुना आउने समय हो। निरन्तर वर्षा हुँदा बाटो अवरुद्ध भएको थाहा भए पनि खुलेको थाहा नहुन सक्छ,” उनले भने, “त्यसैले हामी घान्द्रुकवासीको एउटै आग्रह छ—मौसमसँगै बाटो पनि खुलेको छ। निर्धक्क भएर घुम्न आउनुहोला, हामी स्वागत गर्न तयार छौँ।”
घान्द्रुकमा पर्यटक राख्न पर्याप्त होटल तथा होमस्टे रहेको व्यवसायीहरू बताउँछन्। अध्यक्ष गुरुङका अनुसार गाउँमा अहिले ९५ वटा होटल र ४५ वटा होमस्टे सञ्चालनमा छन्। ती होटल तथा होमस्टेमा एक दिनमा करिब दुई हजार पाँच सय पाहुना राख्न सक्ने क्षमता रहेको उनले जानकारी दिए।
पर्यटकको सङ्ख्या क्षमताभन्दा बढी भए गाउँका व्यक्तिगत घरमा समेत पाहुनाको व्यवस्थापन गर्न सकिने उनकाे भनाइ छ। “पाहुना धेरै भएको खण्डमा व्यक्तिगत घरमा पनि व्यवस्थापन गर्न सकिन्छ। गाउँ आएको पाहुना फर्काउन नपरोस् भन्ने हाम्रो मान्यता छ,” उनले भने।
बाढीपहिरोका कारण प्रभावित बनेको सडक सञ्चालनमा आएपछि चाडपर्व र पर्यटकीय यामको सुरुआतसँगै घान्द्रुकको पर्यटन व्यवसायमा पुनः रौनक फर्किन थालेको छ। सडक र मौसम दुवै अनुकूल बनेकाले आगामी दिनमा पर्यटक आगमन अझ बढ्ने व्यवसायीहरूको अपेक्षा छ।



