पोखरा – नेपालको प्रमुख पर्यटकीय गन्तव्य पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन बजारमा थप चिनाउने उद्देश्यसहित सात देशका पर्यटनसम्बन्धी सामग्री निर्माता (ट्राभल कन्टेन्ट क्रिएटर) पोखरा आइपुगेका छन् । पोखराको प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति, ऐतिहासिक सम्पदा र साहसिक पर्यटनलाई डिजिटल माध्यमबाट विश्वभर पुर्याउने लक्ष्यसहित उनीहरूले यहाँका विभिन्न पर्यटकीय स्थलको भ्रमण गरी भिडियो सामग्री निर्माण गरिरहेका छन् ।
नेपाल पर्यटन बोर्ड र टिकटकको सहकार्य तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सक्रियतामा फ्रान्स, पोर्चुगल, ट्युनिसिया, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स (युएई), बङ्गलादेश र श्रीलङ्काका कन्टेन्ट क्रिएटर पोखरा आएका हुन् । उनीहरूले यहाँका प्रमुख पर्यटकीय गन्तव्यको स्थलगत अवलोकन गरी दृश्य सामग्री तयार पार्ने र आफ्ना सामाजिक सञ्जालमार्फत अन्तर्राष्ट्रिय दर्शकमाझ नेपालको पर्यटन प्रवर्द्धन गर्नेछन् ।
नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलका अनुसार विदेशी कन्टेन्ट क्रिएटरहरूले पोखराका प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक महत्त्वका क्षेत्रको भ्रमण गरी प्रचारात्मक भिडियो बनाइरहेका छन् । शनिबार साँझदेखि पोखराका विभिन्न गन्तव्यको भ्रमणमा रहेका उनीहरूले स्थानीय भूगोल, जीवनशैली, कला, संस्कृति र पर्यटकीय गतिविधिलाई आफ्ना सामग्रीमा समेटिरहेका छन् ।
उनीहरूले फेवाताल, पातले छाँगो (डेभिज फल्स), विश्व शान्ति स्तूप, पुम्दीकोट, कास्कीकोट, सराङकोट र बेगनास ताललगायत प्रमुख पर्यटकीय गन्तव्यमा पुगेर भिडियो सामग्री निर्माण गर्ने कार्यक्रम छ । पोखराको हिमाली दृश्य, तालतलैया, प्राकृतिक सम्पदा र साहसिक पर्यटनका गतिविधिलाई विश्वका विभिन्न देशका पर्यटकसमक्ष पुर्याउने अभियानको मुख्य उद्देश्य रहेको बोर्डले जनाएको छ ।
बोर्डका कार्यकारी सदस्य पोखरेलका अनुसार यो अभियान पोखरामा मात्र सीमित रहने छैन । पहिलो चरणमा पोखरा, चितवन र बर्दियाका पर्यटकीय गन्तव्यलाई समेटेर प्रचारात्मक सामग्री तयार गरिनेछ । ती सामग्री टिकटकसहित विभिन्न सामाजिक सञ्जालमार्फत विश्व पर्यटन बजारमा प्रसारण गरिनेछ । अभियान वर्षभरि सञ्चालन गर्ने र आगामी दिनमा अन्य देशका प्रभावशाली कन्टेन्ट क्रिएटरलाई समेत नेपाल भ्रमण गराएर पर्यटन प्रवर्द्धन गर्ने बोर्डको योजना छ ।
पछिल्लो समय परम्परागत प्रचारप्रसारका माध्यमभन्दा सामाजिक सञ्जालमा सार्वजनिक हुने छोटा भिडियो सामग्रीले पर्यटकीय गन्तव्यको पहिचान र प्रचारमा प्रभावकारी भूमिका खेल्न थालेका छन् । विशेषगरी लाखौँ दर्शक तथा अनुयायी भएका कन्टेन्ट क्रिएटरले कुनै गन्तव्यको दृश्य, अनुभव र गतिविधि सार्वजनिक गर्दा त्यसले छोटो समयमै विश्वव्यापी दर्शकसम्म पहुँच बनाउन सक्ने भएकाले पर्यटन प्रवर्द्धनमा यस्तो अभियानलाई महत्त्वका साथ हेरिएको छ ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले पनि प्रभावशाली विदेशी कन्टेन्ट क्रिएटरमार्फत पोखराको पर्यटनलाई विश्वभर चिनाउने अभियान प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन् । उनका अनुसार धेरै अनुयायी भएका सामग्री निर्माताले टिकटकमा पोखराका पर्यटकीय दृश्य समेटिएका भिडियो सार्वजनिक गर्दा ती सामग्री विश्वभरका लाखौँ दर्शकमाझ पुग्न सक्छन् ।
उनले पछिल्लो समय पर्यटकीय गन्तव्यको प्रचारका लागि सामाजिक सञ्जालमा राखिने छोटा भिडियो सामग्री निकै प्रभावकारी बन्दै गएको बताए । पर्यटकले भ्रमण गर्नुअघि नै सामाजिक सञ्जालमार्फत गन्तव्यको दृश्य, गतिविधि र विशेषताबारे जानकारी लिने प्रवृत्ति बढेकाले डिजिटल प्रचारले पर्यटन आगमन बढाउन सहयोग पुग्ने उनको भनाइ छ ।
प्राकृतिक सौन्दर्य, तालतलैया, हिमाली दृश्य, सांस्कृतिक विविधता र साहसिक पर्यटनका कारण पोखरा लामो समयदेखि विदेशी पर्यटकको आकर्षणको केन्द्र रहँदै आएको छ । अब विदेशी सामग्री निर्माताले आफ्नै अनुभव र दृष्टिकोणबाट पोखराका गन्तव्यलाई विश्वसामु प्रस्तुत गर्दा नेपालको पर्यटन प्रवर्द्धनले थप अन्तर्राष्ट्रिय पहुँच पाउने अपेक्षा गरिएको छ । यस अभियानले पोखरासँगै चितवन, बर्दियालगायत देशका अन्य पर्यटकीय क्षेत्रको पहिचान विस्तार गर्नसमेत सहयोग पुग्ने विश्वास पर्यटन क्षेत्रका सरोकारवालाले गरेका छन् ।



