विद्यालय बन्द गर्ने शिक्षकहरुलाई कारवाही गर्ने काठमाडौं महानगरको निर्णय

काठमाडौं, असोज ३ गते । काठमाडौं महानगरपालिकाले शिक्षक आन्दोलनका नाममा विद्यालय बन्द गरिए कारवाही गर्ने निर्णय गरेको छ । प्रस्तावित विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै बिहीबारदेखि सरकारी शिक्षकहरुले विद्यालय बन्द घोषणा गरेका छन् । तर, महानगरपालिकाले विद्यालय बन्द भए अस्वीकार्य हुने निर्णय गरेको हो ।

महानगरपालिकाका प्रवक्ता नवीन महर्जन विद्यालय शिक्षा ऐनमा काठमाडौं महानगरको पनि असहमति रहेको बताउनुभयो । ‘तर, विद्यालय बन्द गरेर असहमति प्रकट गर्ने विषय स्वीकार्य नहुने उहाँको भनाई छ । ऐनमा रहेका फरक मत हामी पनि राख्छौं,’ उहाँले भन्नुभयो, ‘तर, विद्यालय बन्द गरेर निकास निस्किँदैन, बालबालिकाको पढाइ मात्रै प्रभावित हुन्छ ।’

विद्यालय बन्द भए प्रधानाध्यापक र विद्यालयमा हाजिर नहुने शिक्षकलाई कारवाही गर्ने महानगरको निर्णय छ । शिक्षकले तोकिएको आचारण विपरीत काम गरे त्यसलाई निरुत्साहित हुने गरी कारवाही गरिने प्रवक्ता महर्जनले बताउनुभयो ।

‘हामी भोलि विद्यालय अनुगमन गर्छौं,’ उहाँले भन्नुभयो, ‘विद्यालय बन्द गरेर पढाइ नहुने अवस्था बनाएमा दोषीेहरुमाथि कारवाही हुन्छ ।’