प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा

काठमाडौं – प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपैयाँ जम्मा भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ बजेसम्मको विवरणमा कोषमा विभिन्न नौवटा बैंकमा १० अर्ब ४० करोड ९९ लाख ४३ हजार ५१६ रुपैयाँ जम्मा भएको छ ।

त्यसैगरी कोषका अन्य दुईवटा बैंकमा रहेका अमेरिकी डलर खातामा २ करोड ३७ लाख ६ हजार ५७५ अमेरिकी डलर जम्मा भएको छ । उक्त रकमसमेत नेपाली रुपैयाँमा रूपान्तरण गरी कोषमा जम्मा भएको कुल रकम १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपैयाँ पुगेको हो ।

यसैबीच, केही दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि कोषबाट राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत एक अर्ब रुपैयाँ निकासा गरिएको थियो ।

भोटेकोशी बाढीबाट रसुवासहित विभिन्न जिल्लामा ठूलो जनधन तथा भौतिक पूर्वाधारमा क्षति पुगेपछि सरकारले उद्धार, राहत तथा पुनःस्थापनाका लागि कोषको रकम परिचालन गरिरहेको छ ।