एन आई सी एशिया बैंकको २६ औं वार्षिक साधारण सभा असोज २८ गते हुने

काठमाडौ, असोज ६ गते । एन आई सी एशिया बैंकले आफ्नो २६ औँ वार्षिक साधारण सभा गर्ने भएको छ । बैंकले आफ्नो २६ औँ वार्षिक साधारण सभा यहिँ असोज २८ गते काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा गर्ने भएको हो ।

आज विहान बेसको संचालक समितिको ६३० औँ बैठकले यहिँ असोज २८ गते बैंकको वार्षिक साधारण सभा गर्ने निर्णय गरेको नायब प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) सुधिर नाथ पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैंकले २६ औं वार्षिक साधारण सभामा गत आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने र लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्ने लगायतका सामान्य प्रस्तावहरूमा छलफल तथा निर्णय गर्ने निर्धारित विषयसूची रहेको छ ।

साथै, गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्ता पुँजीको २९ प्रतिशत बोनश शेयर (रू. ३ अर्ब ३५ करोड ३५ लाख ६१ हजार ५ सय ५६) र १.५२६३ प्रतिशत नगद लाभांश (रू. १७ करोड ६५ लाख ३ हजार २ सय ४०) लाभांश कर प्रयोजनार्थ समेत वितरण गर्न स्वीकृत गर्ने भएको छ ।

बैंकको प्रबन्धपत्र र नियमावलीमा समसामयिक संशोधन÷थप गर्ने लगायतका विशेष प्रस्तावमा छलफल तथा निर्णय गर्ने निर्धारित विषयसूची समावेश गरिएको छ । वार्षिक साधारण सभालाई ध्यानमा राखी २०८०/०६/१६ देखि २०८०/०६/२८ सम्म बैंकको शेयर दाखिला खारेज दर्ता बन्द गरेको छ ।