हिमपातपछि जुम्लामा जनजीवन कष्टकर, किसान भने हर्षित

जुम्ला – जिल्लामा पछिल्ला दिनमा परेको हिमपात र अत्यधिक चिसोका कारण जुम्लामा जनजीवन कष्टकर बनेको छ ।

सदरमुकाम खलङ्गासहित माथिल्लो भेगमा खानेपानी ल्याउन प्रयोग गरिएका पाइप फुट्न थालेका छन् । नागरिक समाजका संयोजक राजबहादुर महतले अत्यधिक चिसोका कारण विद्यालय, क्याम्पस र सरकारी कार्यालयको गतिविधि प्रभावित भएको बताए । महतका अनुसार, “बाहिरी पर्यटकको आवत–जावत न्यून छ, बजारका चोकचोकमा मानिस आगो बालेर बसेका देखिन्छन्। समग्रमा जनजीवन नराम्रोसँग प्रभावित भएको छ ।”

स्थानीय बासिन्दा सुनिता बुढाले अत्यधिक चिसोका कारण विशेषगरी वृद्धवृद्धा, सुत्केरी, बालबालिका र दीर्घरोगी प्रभावित भएको बताइन् ।

जल तथा मौसम कार्यालयका प्रमुख आशामपुरा कार्कीका अनुसार, हिमपात र चिसोले तापक्रम ऋणात्मकतर्फ गएको छ, धाराको पानी जम्न थालेको छ र मानिसमा श्वासप्रश्वाससम्बन्धी समस्या बढेको छ।

तर हिमपातको प्रभाव किसानका लागि भने सकारात्मक छ। तिला गाउँपालिका–१ का स्थानीयवासी लङ्क बुढाले हिउँ परेपछि हिउँदे बाली राम्रो हुने बताएका छन्। कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले यस वर्ष गहुँ, जौ, आलु लगायत मुख्य बाली राम्रो हुने र स्याउको नयाँ बिरुवा रोप्न पनि हिउँ अनुकूल रहेको जानकारी दिए ।

हिमपातपछि जुम्लाका डाँडाकाँडा सेताम्मे भएका छन् । स्थानीय युवायुवती हिउँमा रमाउँदै फोटो र भिडियो खिचिरहेका देखिन्छन् ।