बाढी प्रभावित क्षेत्रको अवलोकनमा गर्न बिहानै निस्किए प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री बालेन शाह आज बिहानै बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुरतर्फ स्थलगत निरीक्षणका लागि प्रस्थान गरेका छन्।

प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकासमन्त्री सुनिल लम्साल पनि सहभागी छन्। प्रधानमन्त्रीसहितको टोली बिहान साढे ९ बजे सडकमार्ग हुँदै बाढी प्रभावित मुख्य क्षेत्रमध्ये एक विदुरतर्फ प्रस्थान गरेको हो।

बुधबार रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीका कारण रसुवासहित नुवाकोट, धादिङलगायतका जिल्लाका विभिन्न क्षेत्रमा सडक, पुल, विद्युत् तथा अन्य भौतिक पूर्वाधारमा क्षति पुगेको छ।

प्रधानमन्त्री शाहले स्थलगत निरीक्षणका क्रममा बाढीबाट भएको क्षति, उद्धार तथा राहतको अवस्था र प्रभावित क्षेत्रमा अवरुद्ध पूर्वाधार पुनःसञ्चालनका प्रयासबारे जानकारी लिने बताइएको छ।