बुटवल – निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी मङ्सिरदेखि नै सवारी साधन सञ्चालन गर्ने गरी आवश्यक तयारी अघि बढाइएको छ। सिद्धबाबा सुरुङमार्ग योजना कार्यालय बुटवलले मुख्य सुरुङसहित आवश्यक पूर्वाधार निर्माणको कामलाई अन्तिम चरणमा पुर्याउँदै मङ्सिर १५ गतेभित्र सवारी सञ्चालन गर्ने लक्ष्य लिएको हो।
सुरुङभित्र सडक निर्माण तथा अन्य सिभिल संरचनाको काम सम्पन्न भइसकेकाले अब बाँकी प्राविधिक काम पूरा गरेर सवारी सञ्चालनको तयारी गरिएको आयोजना प्रमुख नवराज बास्तोलाले बताए। उनका अनुसार बर्खा र भोटेकोशीमा आएको बाढीका कारण निर्माण सामग्री ल्याउन ढिलाइ हुँदा सवारी सञ्चालनको पूर्वनिर्धारित समय करिब एक महिना पछि धकेलिएको हो।
“बर्खा र भोटेकोशी बाढीका कारण निर्माण सामग्री आउन ढिलाइ भएकाले एक महिनापछि धकेलिएको छ,” उनले भने, “अब एक–दुई दिनमै निर्माण सामग्री आएपछि टनेलभित्रको काम अगाडि बढाउँछौँ। मङ्सिर १५ गतेभित्र सवारी सञ्चालन गर्छौं।”
भोटेकोशी बाढीले सुरुङमार्गका लागि ल्याइएको विद्युतीय सामग्री बगाएपछि सवारी सञ्चालनको पूर्वनिर्धारित योजना प्रभावित भएको बास्तोलाले बताए। अहिले सुरुङभित्र सडक पिच गर्ने काम सकिएर रङरोगन भइरहेको छ भने टेक्निकल भवनको फिनिसिङको काम पनि चलिरहेको छ। लाइनिङ अर्थात् भुइँ तथा भित्ता ढलानसहितका सिभिल संरचनाको काम यसअघि नै सम्पन्न भइसकेको छ।
आयोजनामा अब मुख्य रूपमा इलेक्ट्रोमेकानिकलसम्बन्धी काम बाँकी रहेको आयोजना प्रमुख बास्तोलाले बताए। सुरुङभित्र सवारी सञ्चालनका लागि आवश्यक विद्युतीय तथा प्राविधिक उपकरण जडानलाई तीव्रता दिइने योजना कार्यालयले जनाएको छ।
योजना कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर सौम्य आनन्दका अनुसार आयोजनाको हालसम्म भौतिक प्रगति ६९ दशमलव ७० प्रतिशत र वित्तीय प्रगति ६३ दशमलव ५५ प्रतिशत पुगेको छ।
हालसम्म मुख्य सुरुङ तथा बाइपास सुरुङ खन्ने, लाइनिङ, १४ वटा कल्भर्ट र सुरुङभित्रको प्रिमेन्ट निर्माणको काम सम्पन्न भएको छ। सुरुङमा तीनवटा बाइपाससमेत निर्माण गरिएको छ।
सुरुङभित्रको काम सम्पन्न भएपछि बाहिरी सडक क्षेत्रलाई सुरक्षित बनाउने काम सुरु गरिने इन्जिनियर आनन्दले बताए। सुरुङको बाहिरी भागलाई पहिरोबाट जोगाउन रकसेड, रकफल ब्यारेयर तथा स्लोप प्रोटेक्सनलगायतका संरचना निर्माण गरिने उहाँको भनाइ छ।
एक हजार १२६ मिटर लामो सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि २०७८ फागुनमा ठेक्का सम्झौता भएको थियो। २०७९ सालदेखि निर्माण सुरु भएको आयोजनाको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले रु सात अर्ब ३४ करोड २१ लाख ४० हजारमा लिएको हो।
सिद्धार्थ राजमार्गको तल्लो सिद्धबाबा मन्दिरदेखि पाल्पाको दोभानसम्मको क्षेत्र अत्यधिक पहिरो जाने जोखिमयुक्त क्षेत्रका रूपमा चिनिन्छ। वर्षायाममा मात्र नभई सुक्खायाममा समेत सुक्खा पहिरो र ढुङ्गा खस्ने समस्याका कारण यस सडकखण्डमा यातायात प्रभावित हुँदै आएको छ। सोही जोखिम न्यूनीकरण गरी राजमार्गलाई सुरक्षित बनाउन सुरुङमार्ग निर्माण गरिएको हो।
सरकारको आफ्नै स्रोतमा निर्माण भइरहेको सुरुङमार्ग सञ्चालनमा आएपछि सिद्धबाबा क्षेत्रमा पहिरो तथा ढुङ्गा खस्ने जोखिमबाट यात्रुलाई राहत पुग्ने अपेक्षा गरिएको छ। सुरुङमार्ग सञ्चालनमा आएपछि लुम्बिनी प्रदेशका गुल्मी, अर्घाखाँची, पाल्पा र प्यूठान तथा गण्डकी प्रदेशका स्याङ्जा, पर्वत, बागलुङ र म्याग्दीका नागरिकसमेत प्रत्यक्ष लाभान्वित हुनेछन्।



