सडकमा तरकारी फालेर किसानको आन्दोलन

चितवन, माघ २० गते । चितवनका किसानहरुले नारायणगढको पुल्चोकमा तरकारी फालेर विरोध जनाएका छन् । स्वदेशी तरकारीले उत्पादन अनुसारको लागत नपाएको भन्दै किसानले बिरोध जनाएका हुन् ।

उनीहरुले भारतीय तरकारीको जथाभावी आयातले स्वदेशी तरकारी उत्पादक किसान मारमा परेको भन्दै नारायणगढ पुल्चोकमा गोलभेडा, काउली, बन्दा, पर्वर लगायतका तरकारी फालेका छन् ।

चितवनमा फालेको तरकारीमा किसानको पसिना मिसिएको छ, पसिनाको मूल्य पनि पाइएन’ तरकारी किसान लेखनाथ भुसालले भन्नुभयो, ‘हाम्रो दुःख र पसिना यसै गयो ।’

सरकारले आफूहरुको समस्या पटक्कै नसुनेको उहाँको गुनासो छ । स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न कत्ति पनि सरकारले सहयोग नगरेको भुसालको भनाई छ । तरकारी बोक्ने सवारी साधनसहित जम्मा भएका किसानहरुले बारीमा जाउँ भविष्य छैन, खाडीमा जाउँ उमेर छैन, नेपाली किसान मार्न पाइँदैन, विदेशी तरकारी र फलफूल चाहिँदैन भन्दै प्लेकार्ड र ब्यानर बोकेका थिए ।

लागत अनुसारको तरकारीको मूल्य सरकारले तोक्नुपर्ने र भारतीय तरकारीको आयात रोक्नुपर्ने माग उहाँहरुको छ । किसानहरुको प्रर्दशनका कारणले केहीबेर राजमार्गमा सवारी साधान सञ्चालनमा समस्या भएको थियो । किसानहरुले थप शशक्त आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।