बन्दीपुर – तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित रिपका किसान गणेश गुरुङले यस वर्ष करिब रु २५ लाख मूल्यको सुन्तला बिक्री गर्ने तयारी गर्नु भएको छ । अघिल्लो वर्ष उहाँले सुन्तला बिक्रीबाट रु २२ लाख आम्दानी गरेका थिए । यस वर्ष गुरुङले ठेक्कामा नदिइ, आफैले बजार व्यवस्थापन गर्दै बिक्री गर्दै छन् । अहिलेसम्म रु १० लाखको सुन्तला बिक्री भइसकेको छ भने बगैँचामा अझै कम्तीमा रु १५ लाख मूल्यको सुन्तला रहेको उनले बताए ।
गुरुङले विसं २०५७ मा करिब २२ रोपनी जग्गामा सुन्तला रोपेर खेती सुरु गर्नुभयो। अहिले उनको बगैँचामा तीन हजारभन्दा बढी सुन्तलाका बिरुवा छन् । वर्षभरि दैनिक तीन जनालाई नियमित रोजगारी उपलब्ध गराउने यस बगैँचामा सुन्तला टिप्ने तथा बोक्ने समयमा छ–सात जनाले काम पाएका छन् ।
स्थानीय किसानका अनुसार, बन्दीपुरको भिरालो र चिसो जमिनमा समेत सुन्तला लगाउँदा प्रतिवर्ष १०–१५ लाख रुपैयाँ आम्दानी सम्भव छ । गुरुङले उत्पादन गरेको सुन्तला स्थानीय बजारसहित डुम्रे, दमौली, पोखरा र चितवनका बजारमा बिक्री हुने गर्दछ । “बन्दीपुरका सुन्तला भन्नेबित्तिकै एउटा ‘ब्रान्ड’ बनेको छ,” सुन्तला किसान कष्णबहादुर गुरुङले बताए ।
सुन्तलाको उत्पादन तीन वर्षपछि सुरु हुन्छ र बिरुवा हेरचाह, कीराको प्रकोप, जीवाणु तथा ढुसीजन्य रोग, जरा कुहिनेलगायत समस्याबाट जोगाउन नियमित मेहनत आवश्यक हुन्छ । स्थानीय गाउँपालिकाले किसानको मागअनुसार बिरुवा, आवश्यक औषधि र प्राविधिक सहयोग उपलब्ध गराइरहेको छ ।
भारतीय पूर्वसैनिक समेत रहेका गुरुङले भने, “म आफ्नै परिवारको लागि काम गर्दा खुशी छु। गाउँबाहिर नजाने र गाउँमै उत्पादन गरेर आम्दानी गर्न सकिन्छ।”
गाउँपालिका अध्यक्ष सुरेन्द्र थापाका अनुसार बन्दीपुर–३, वडा नं ५ र ६ लगायतका क्षेत्र सुन्तला उत्पादनका लागि पकेट क्षेत्रका रूपमा विकास भएका छन् । उच्चकोटीको स्वादिलो सुन्तलाका लागि पर्याय बनेको यस क्षेत्रमा किसानले आधुनिक तरिकाबाट गोडमेल र हेरचाहसहित खेती गर्दै उत्पादकत्व र गुणस्तर वृद्धिसँगै बजार पहुँच समेत सुनिश्चित गरेका छन् ।
यसरी बन्दीपुरको सुन्तलाखेती कृषकका लागि मनग्ये आम्दानीको स्रोत बनेको छ र गाउँमै रोजगारी सिर्जना भएको छ ।



