पर्वत, — पर्वत, स्याङ्जा र गुल्मी जिल्लाको सङ्गमस्थलमा रहेको विश्वकै ठूलो शालिग्राम शिला लगातारको वर्षापछि डुबानमा परेको छ।
दुई दिनदेखि निरन्तर वर्षा हुँदा कालीगण्डकी नदी र सेतीखोलाको जलसतह उल्लेख्य रूपमा बढेपछि शालिग्राम शिला पूर्ण रूपमा डुबानमा परेको हो। शालिग्राम विद्याश्रमका संरक्षक कुलराज तिवारीका अनुसार शिलासम्म पुग्ने बाटो, परिक्रमास्थल तथा नजिकै रहेको सत्तलसमेत डुबानमा परेका छन्।
कालीगण्डकी र सेतीखोलामा पानीको बहाव ह्वात्तै बढेसँगै शालिग्राम क्षेत्रमा नियमित रूपमा पूजापाठ गर्ने पुजारी तथा पण्डित विस्थापित बनेका छन्। साथै, दर्शनका लागि आउने भक्तजन पनि शालिग्राम शिलाको दर्शन गर्नबाट वञ्चित भएका छन्।
स्थानीय तिलक पराजुलीका अनुसार सेतीवेणीमा मिसिने सेतीखोलाको बहाव र कालीगण्डकीको उच्च जलप्रवाहका कारण शिला परिक्रमास्थल पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ। उहाँले शिला क्षेत्र डुबानमा परे पनि आसपासका बस्तीमा तत्काल कुनै खतरा नरहेको जानकारी दिए ।
पवित्र शालिग्राम शिलासँगै संरक्षणका लागि निर्माण गरिएका तटबन्ध तथा ग्याबियन जालीसमेत पानीले पुरिएको छ। सुरक्षा जोखिम बढेपछि शिलामा दर्शन गर्न जान अस्थायी रूपमा रोक लगाइएको छ।
स्थानीयवासीका अनुसार कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका कारण नदीको बहाव बढ्दा पर्वत, स्याङ्जा र गुल्मीको सीमामा रहेको सेतीवेणी बजार बारम्बार डुबानको जोखिममा पर्ने गरेको छ। कालीगण्डकी र सेतीखोलाको जलसतह बढेसँगै सेतीवेणी बजारका करिब दुई सय व्यापारी तथा सर्वसाधारण त्रसित बनेका छन्।
दुई वर्षअघि साउनमा आएको बाढी बजारसम्म पुग्दा एक घर भत्किएको तथा आधा दर्जन घर विस्थापित भएको थियो। गल्याङ नगरपालिका–५ का वडाध्यक्ष घनश्याम भट्टराईले कालीगण्डकी नदीको बहाव व्यवस्थापन नगरेसम्म जोखिम कायम रहने बताए । उनले नदीको बहाव गुल्मीतर्फ मोडेर शालिग्राम शिलाको दीर्घकालीन संरक्षण गर्नुपर्ने स्थानीय माग रहेको जानकारी दिए ।
विहादी गाउँपालिकाका अध्यक्ष परबीन गुरुङले शालिग्राम शिला अवस्थित क्षेत्रको संरक्षणका लागि स्याङ्जाको गल्याङ नगरपालिका, पर्वतको विहादी गाउँपालिका र गुल्मीको कालीगण्डकी गाउँपालिकाबीच समन्वय आवश्यक रहेको बताए ।
यसैबीच, जिल्ला प्रहरी कार्यालय पर्वतले लगातारको वर्षासँगै सेतीवेणी क्षेत्र तथा विभिन्न खोला–नदीमा बाढीपहिरोको जोखिम बढेकाले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। जोखिम जुनसुकै बेला आउन सक्ने भएकाले सुरक्षित रहन र आवश्यक सावधानी अपनाउन प्रहरीको अनुरोध छ।



