विश्व पर्यटन दिवसको पोखरामा तयारी

गण्डकी, असोज ७ गते । पर्यटकीय नगरी पोखरामा ४४औँ विश्व पर्यटन दिवस (सेप्टेम्बर २७) लाई भव्य रुपमा मनाउने तयारी गरिएको छ । आईतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले कोरोना महामारीका कारण सुस्ताएको पर्यटनलाई चलायमान बनाउने लक्ष्यका साथ विभिन्न कार्यक्रम गरी विश्व पर्यटन दिवस मनाउन लागिएको जानकारी गराउनुभयो ।
पोखरा पर्यटन परिषद्को आयोजना एवम् गण्डकी प्रदेशको उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालय, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा कार्यक्रम गर्न लागिएको उहाँले बताउनुभयो ।
कार्यक्रमकै अवसरमा मित्रराष्ट्र भारतबाट भारतीय टुर अपरेटर र भारतीय सञ्चारकर्मीहरू पोखरा आउन लागेको जानकारी दिँदै उहाँले उक्त अवसरमा विशेष अतिथिका रुपमा भारतीय राजदूत नवीन श्रीवास्तव आउनुहुने बताउनुभयो । “पोखराको पर्यटनका सम्बन्धमा भारतीय टुर अपरेटर र नेपाली टुर अपरेटर एवम् सञ्चारकर्मीबीच अन्तरक्रियासमेत गरिनेछ”, उहाँले भन्नुभयो ।
दिवसका पूर्वसन्ध्यामा २६ सेप्टेम्बरमा टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीको आयोजनामा पोखराको मार्गीदेखि पुम्दीकोटसम्मको गन्तव्य पहिचान, प्रवद्र्धन एवम् एक दिवसीय पदयात्रा कार्यक्रम गर्न लागिएको टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले जानकारी दिनुभयो ।
मार्कीबाट पर्यटन व्यवसायी, स्वदेशी एवम् विदेशी पर्यटकसहित करिब एक सय ५० जनाको टोलीले सिम्ले, पात्ले हुँदै पुम्दीकोटसम्म पदयात्रा गर्ने उहाँले बताउनुभयो । दिवसका दिन रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराको आयोजनामा बाराहीचोकदेखि खहरे चोकसम्म साँझ ५ बजेदेखि मिनी सडक महोत्सव आयोजना गरिनेछ ।
‘सडकमै खाऔँ, सडकमै रमाऔँ’ भन्ने नाराका साथ आयोजित महोत्सवले स्वदेशी एवम् विदेशी पर्यटकलाई पोखरा भित्र्याउन महत्त्वपूर्ण योगदान गर्ने विश्वास लिइएको छ । उक्त दिन नाट्टा गण्डकी प्रदेशको आयोजनामा पोखरा पर्यटन बसपार्कमा वृक्षारोपण तथा रक्तदान कार्यक्रम गरिने छ । उक्त दिन पोखरामा क्रियाशील पर्यटन सम्बद्ध सङ्घसंस्थाको आयोजनामा पोखरा अन्तरराष्ट्रिय विमानस्थल तथा पोखरा पर्यटन बसपार्कमा पहिलो आउने पर्यटकलाई स्वागत गर्ने कार्यक्रम रहेको परिषद्का अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव कुमानसिंह गुरुङले विश्व पर्यटन दिवसलाई प्रदेशका ११ वटै जिल्लामा मनाउन लागिएको जानकारी गराउनुभयो ।